Comments Add Comment

गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो

९३८ जना संक्रमित डिस्चार्ज भए

४ असार, पोखरा । गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३२० पुगेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबारमात्रै गण्डकीका ६ जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने जिल्लामा लमजुङ र कास्कीका १२ जना छन् । जसमध्ये लमजुङका ६ र कास्कीका ६ जना रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार लमजुङका विभिन्न स्थानीय तहका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बेशींसहर नगरपालिका, राईनाश गाउँपालिका, दूधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका एक÷एक जना छन् । उनीहरु २९ देखि ५८ वर्ष उमेर समूहका छन् ।

त्यस्तै, लमजुङकै मध्यविन्दु नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ र ६५ वर्षीय पुरुष हुन् ।

कास्कीको पोखरा महानगरमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २४ देखि ६७ वर्ष उमेर समूहका रहेको निर्देशनालय निर्देशक डा शर्माले जानकारी दिए । ‘संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा छन् । जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ,’ उनले भने ।

आइतबार बिहानमात्रै गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि हुनेमा पर्वतका २ जना, बागलुङका २ जना, स्याङजाका २ जना र म्याग्दीका ६ जना थिए । निर्देशनालयले पर्वत बागलुङ र स्याङजाका बाहेक अन्य संक्रमितलाई आइसोलेसन लैजान तयारी भइरहेको जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्दा निको हुने संक्रमितको संख्या ९ सय ३८ छ । कुल संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरामा उपचारका क्रममा स्याङजाका २ जना, गोरखामा एक जना र बागलुङका एकजनाको क्वारेन्टिनमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment