+
+
Shares
लकडाउनपछिको सार्वजनिक यातायात :

रत्नपार्क, रत्नपार्क ! मास्क लगाउने, भाडा बढी तिर्ने

रोयल आचार्य/चन्द्रबहादुर आले रोयल आचार्य/चन्द्रबहादुर आले
२०७७ साउन ४ गते २०:१९

४ साउन, काठमाडौं । ‘ए भाइ तपाई माक्स लगाउनुस्,’ सुन्धारामा रोकी राखेको टेम्पोका चालक आफ्नो टेम्पोभित्र बसेका यात्रुलाई भन्दै थिए ।

ती यात्रुले सुनेनन् या नसुनेजस्तो गरे । केही प्रतिक्रिया नआएपछि चालकले अलि ठूलो स्वरले भने, ‘मैले तपाईलाई भनेको हुँ, मास्क लगाउनुस् ।’

बल्ल उनले जवाफ फर्काए । ‘ए मास्क नै बिर्सिएछु ।’

‘नजिकै किन्न पाइन्छ होला किनेर आउनुस् ।’

ती युवक आनाकानी गरिरहेका थिए । तर, टेम्पो चालकले मानेनन् ।

अन्ततः युवक टेम्पोबाट झरे र अन्तै बाटो तताए ।

यो दृश्य नियालिसकेपछि हामीले चालकलाई जिज्ञासा राख्यौँ, ‘तपाईको टेम्पोमा मास्क नलगाई चढ्न पाइँदैन हो ?’

‘मैले पाउँछ भनेर हुँदैन, ट्राफिकले क्या थर्काउँछ’ उनले जवाफ फर्काए ।

कुराकानीकै क्रममा उनले आफ्नो परिचय दिए– नाम रतन लामा । उनले सिनामंगल रुटमा टेम्पो चलाउन थालेको १५/२० वर्ष भइसक्यो ।

लकडाउनपछि भने उनले सडकमा टेम्पो निकालेको चार दिन मात्र भएको छ । पहिलो दिन उनले इन्धनको भाडामा उठाउनै मुश्किल परेको सुनाए । विस्तारै यात्रुको संख्या बढ्न थालेको उनले सुनाए । ‘तर के गर्नु, सिटभरि मान्छे हाल्न मिल्दैन’ उनी भन्छन् ।

‘टेम्पोमा कतिजना मान्छे राख्नुहुन्छ ?’ हामीले जिज्ञासा राख्यौँ ।

‘बढीमा ५ जना राख्ने, ६ जना राखेको देख्यो भने पनि ट्राफिकले किचकिच गरिहाल्छ ।’

‘अनि भाडा कति लिनुहुन्छ नि पहिलेकै जति कि लकडाउनपछि बढी लिँदैहुनुहुन्छ ?’

लामाले भने, ‘२० रुपैयाँ’ उनले जवाफ फर्काए । तर, यात्रु कम भएका कारण २० रुपैयाँले पनि फाइदा नहुने उनले हिसाब सुनाए । ‘पहिलेको भाडा १४ हो तर सबैले १५ दिन्थे, अहिले सरकारको निर्णय अनुसार नै २० रुपैयाँ लिन्छु’ उनले भने, ‘तर त्यो २० रुपैयाँले पनि केही हुँदैन, पहिले एक ट्रिपमा कमाउने पैसा अहिले ३ ट्रिप गर्नुपर्छ ।’

‘अनि कोरोनाको डर लाग्दैन ?’

‘यात्रु बढ्दै जाँदा भीड हुन्छ, भीड भएपछि डर त भइहाल्छ । तर, भोकै बस्ने कुरा पनि भएन अहिले त डर पनि लाग्न छाडिसक्यो’ उनले भने ।

त्यत्तिकैमा एउटा ठूलो बस आइपुग्यो । ‘ए बानेश्वर, कोेटेश्वर नयाँ बाटो, ठिमी…. ।’

बस काठमाडौं मल अगाडि रोकियो ।

एक वृद्ध दम्पत्ति गाडीबाट झरे । गाडी अघि बढ्नै लागेको थियो । ‘…ए मेरो पैसा… मेरो पैसा फिर्ता….’ वृद्ध कराए । गाडीका सहचालक अघि बढ्न खोज्दै थिए ।

‘कहाँ हुन्छ, मैले सय रुपैयाँ दिएको…’ वृद्ध रिसाएको भावमा प्रस्तुत भए । सहचालकले हातमा समाएको पैसाको मुठोबाट २० रुपैयाँ निकालेर दिए । यात्रुले भने, ‘धन्न २० रुपैयाँ भए पनि दियो ।’

गाडी अगाडि बढ्यो ।

‘कहाँबाट आउनुभएको ?’ हामीले सोध्यौं । वृद्ध भुतभुताइरहेका थिए । वृद्धाले बोलिन्, ‘कौशलटारबाट आएको, भाडा कति धेरै लिन खोज्दोरहेछ ।’

हाम्रो जिज्ञासामा थप प्रष्ट पार्दै उनी बोलिन्, ‘पहिले १५ रुपैयाँ थियो, अहिले बढाउने हो ठिकै छ, तर सय रुपैयाँ लिन खोज्यो । धन्न २० रुपैयाँ फिर्ता दियो ।’

सरकारले ५० प्रतिशत बढी भाडा लिन पाउने बताएको छ । १५ रुपैयाँको ५० प्रतिशत ७ रुपैयाँ ५० पैसा हुन्छ । अर्थात भाडा २२ रुपैयाँ ५० पैसा । तर, गाडीवालाले ५० रुपैयाँ लिन खोजेको थियो । सयमा २० रुपैयाँ फिर्ता दिँदा पनि एक जनाको ४० रुपैयाँ भाडा पर्न गयो । यसकारण पनि उनीहरु रिसाएका थिए ।

हामीले अन्य सवारी साधनहरुमा पनि नजर लगाउँदै गयौँ । सुन्धारामा भेटिएका सार्वजनिक यातायातका साधनमध्ये धैरै तीनपाङ्रे टेम्पो नै थिए । केही माइक्रो र केही ठूला बसहरु पनि बेला बेलामा आइरहन्थे ।

यत्तिकैमा अर्को गाडी आएर हाम्रै अगाडि रोकियो । हामीलाई यात्रु ठानेर बोलाउँदै सहचालकले भट्याए, चावहिल, बौद्ध, चावहिल बौद्ध….’ गाडी लगभग खाली थियो । ३/४ जना यात्रु भर्खरै ओलिए । सहचालकले गाडीभित्र चढ्न हामीलाई आग्रह गरिरहेका थिए । पछि हामी सञ्चारकर्मी हौं भन्ने थाहा पाएपछि चुप बसे ।

‘कति जनासम्म यात्रु गाडीमा चढाउनुहुन्छ ?’ हामीले सोध्यौं । दुई सिट बराबर एक मान्छे राख्न साहुले निर्देशन दिएको तर, त्यो पनि मान्छे नपाएर खाली नै कुदाइरहेको उनले बताए ।
‘मान्छे पाए पो चढाउनु, मान्छे नै बाटोमा धेरै भेटिँदैनन्’ उनले भने, ‘एउटा चोकमा २ जना चढ्छन्, अर्को चोकमा ती झर्छन्, अरु दुई जना चढ्छन् ।’

भाडाको विषयमा पनि हामीले सहचालकलाई सोध्यौं । काठमाडौंको भाडा १५ रुपैयाँ लिने चलन थियो । त्यो १५ रुपैयाँको ठाउँमा २५ रुपैयाँ लिने गरेको उनले सुनाए ।

पुरानो बानेश्वरतिर जाने अर्को टेम्पो आइपुग्यो ।

पछाडि ५ जना अनि चालकसँगै एक जना गरेर ६ जना थिए । टेम्पो रोकिएपछि यात्रुहरु सबै झरे । चालक महिला थिइन् ।

‘६ जना चढाउन पाइन्छ र ?’ हामीले सोध्यौं ।

‘खासमा त पाइँदैन, एकै परिवारका ३ जना भएका कारण चढाउनुपर्‍यो, नजिकैबाट चढाएको हो’ टेम्पो चालकले भनिन् ।

‘कोरोनाको सुरक्षा सतर्कता….. ?’

प्रश्न भुईमा खस्न नपाउँदै स्ट्रेरिङ अगाडि राखेको स्यानिटाइजर देखाउँदै उनी बोलिन्, ‘स्यानिटाइजर राखेको छु, सबै पेसेन्जरलाई लगाउन भन्छु ।’

उनले मास्क नलगाएका यात्रुहरुलाई टेम्पोमा नचढाउने पनि बताइन् ।

हामीले केहीबेर अन्य टेम्पो चालकहरुसँग पनि गफ गर्‍यौं । टेम्पोवालाहरु सबैले १५ रुपैयाँ लिने ठाउँमा २० रुपैयाँ, २० रुपैयाँ लिने ठाउँमा २५ रुपैयाँ भाडा लिने गरेको सुनाए ।
हामीले केही यात्रुहरुसँग पनि कुरा गर्‍यौं । भाडाको गुनासो त छँदै थियो, हामीले कोरोनाको विषयमा पनि यात्रुहरुलाई सोध्यौं ।

दुईजना महिला काठमाडौं मल अगाडिबाट टेम्पोमा चढेका थिए । उनीहरु न्यूरोडको एक सहकारी संस्थामा काम गर्दारहेछन् । कार्यालय समय सकिएपछि उनीहरु घर जानका लागि टेम्पोमा चढे ।

‘कोरोना त अब हराइसक्यो भन्छन्, फेरि कोरोना छ भनेर काम नगरी बस्न पनि मिलेन’ कोरोनाबारे राखेको जिज्ञासामा उनीहरु मध्येकी एकजनाले भनिन्, ‘माक्स लगाएर जाने हो, स्यानिटाइजर लगाउने, कोरोना लागेछ भने पनि लागोस् ।’

अर्को माइक्रोमा चढेका एक यात्रुको जवाफ पनि उस्तै थियो, ‘सधैं डराएर पनि त भएन, अस्ति नै कति दिन पैदल हिँडियो, अब गाडी पाउँदा त चढ्नैपर्‍यो नि ।’

हामी सुन्धाराबाट पुरानो बसपार्कतिर लाग्यौं ।

अरुबेला खचाखच हुने पुरानो बसपार्क (हाल खुलामञ्चमा) पुग्यौँ । त्यहाँ तीनवटा मात्र बस थिए । एउटा हिँड्नै लागेको थियो । बसका सिट प्रायः खाली थिए ।

खाली नै हिँड्ने हो ? चालकले जवाफ दिए, ‘बाटामा अलिअलि मान्छे भेटिन्छ ।’

पुरानो बसपार्कमा केही निजी सवारी साधनहरु पार्किङ गरिएका थिए । एउटा गैरसरकारी संस्थाले त्यहाँ खाना खुवाउने कार्यक्रम राख्ने रहेछ । खाना खानका लागि केही मानिसहरु कुरेर बसेका थिए ।

यो दृश्य नियालिसकेपछि हामी रत्नपार्क पुग्यौं ।

रत्नपार्क पनि अन्य समयमा निकै भीडभाड हुने ठाउँ हो । तर, यहाँ केही टेम्पो, माइक्रो र साझा यातायात मात्र भेट्यौं । बाटामा पैदलयात्री एकदमै कम थिए । उसै पनि आइतबार दिनभरिजसो पानी दर्केको थियो ।

एउटा टेम्पो कलंकीका लागि हिँड्न लागेको थियो । अर्को नीलो रंगको सानो माइक्रो पनि यात्रु पर्खिरहेको थियो ।

छेउमै आएको साझा यातायातका चालकले भाडा सोध्नेवित्तिकै ५० प्रतिशत बढी भन्ने जवाफ दिए । लाग्थ्यो, उनी हाम्रो प्रश्नका लागि पहिल्यै तयारी अवस्थामा थिए । अन्य यातायातका साधनको तुलनामा साझामा यात्रुहरुको संख्या बढी थियो । उसै पनि साझा बस अरुभन्दा ठूलै छ ।

शान्तिवाटिकापट्टि पनि नीलो रंगका माइक्रोहरु यात्रु ल्याउँदै ओराल्दै गरिरहेका थिए । चढ्नका लागि बसेका मान्छेहरुको संख्या निकै कम थियो । नेपालटार, माकलबारी, कपन लगायतका ठाउँमा जाने यी माइक्रोहरुले शतप्रतिशतसम्म भाडा बढी लिने गरेको यात्रुले हामीलाई सुनाए ।

शान्तिवाटिका अगाडि कुरा गदैगर्दा घडीमा साँझको ५ बजेर ३५ मिनेट नाघिसकेको रहेछ । सुन्धारादेखि रत्नपार्कसम्म एक घण्टाभन्दा बढी समय बिताएर हामी कार्यालयतिर फर्कियौँ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?