Comments Add Comment

काठमाडौं महानगरले गर्‍यो अस्पतालहरूलाई सहयोग

४ साउन, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।

असार ११ गते तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झासजियकन सहितको टोलीले काठमाडौँ महानगरपालिकाकाको टोलीलाई हस्तान्तरण गरेका ती सामाग्री पैदल मार्गबाट सिन्धुपाल्चोक हुँदै काठमाडौं ल्याइएको थियो ।

१४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात् करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वस्थ्य सामाग्री मध्ये आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरिएको हो ।

त्यसैगरी प्रसुतीगृहलाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिए ।

प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरणपछि महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित गरेको ल्हासा सहरले अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री दुई अस्पताललाई हस्तान्तर गरेको बताए।
उनले विगतमा पनि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको पनि बताए ।

उनले भने, ‘आर्थिक बर्ष २०७७–०७८ को बजेटमा पनि कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण लगायतका विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ ।’

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीले आगामी दिनमा पनि महानरपालिकासँग थप सहयोगका अपेक्षा गरेको बताए । प्रसुतीगृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले पनि महानगरपालिकाले सहयोगको प्रशंसा गरे।

काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलका अनुसार अधिकृत यम वस्यालले ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको थियो ।

यस्तै आरडीटी किट ३ हजार थान, डिस्पोजेब सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) २ हजार छ सय थान थिए। अन्य सामाग्री महानगर आफैंले प्रयोग गर्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment