Comments Add Comment

खुमलटारमा पूर्वमाओवादीको भेला : केपी ओलीले निकास दिनुपर्छ

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।

नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे ।

पूर्वमाओवादी भनेर बैठक गर्नु उपयुक्त नभए पनि अहिलेको परिस्थिति अलि जटिल भएकाले राय सल्लाह लिन बोलाएको हुँ भन्दै प्रचण्डले बैठक सुरु गरेका थिए । पार्टी एकता भएपनि सांगठनिक एकताका काम बाँकी भएको भन्दै उनले पूर्वमाओवादीको गुट नबनाउने तर विचारका हिसाबले बेलाबेला छलफल गर्दै जाने बताए । यसरी नै पूर्व एमालेसँग छलफल गर्ने उनले बताए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी एकता जोगाउने मात्र होइन, विभाजन गर्न खोज्नेहरुलाई निरत्साहित गर्नुपर्छ भन्नेमा सबैको एकमत छ’ एक नेताले भने ।

मंसिरमा पार्टी महाधिवेशन गर्ने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सहमत हुन नसक्ने प्रचण्डले बताएका छन् ।

शनिबार भएको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार गर्नुपर्ने ओलीको प्रस्ताव रहेको प्रचण्डले सुनाए ।

त्यही प्रस्तावमा सहमति गराउन सचिवालय बैठक लगतै प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति कार्यालय शीतल निवास बोलाइएको थियो । तर आफू सहमत नभएको प्रचण्डले बताए । वैचारिक विषय नटुंग्याई महाधिवेशन गर्दा पदका लागि मात्र गरेको सन्देश जाने उनले बताए ।

बैठकले जारी स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काउने र एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । ‘अब बैठकलाई धेरै लम्ब्याउनु हुन्न, एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ’ बैठकमा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीको समस्या समाधानका लागि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले केपी ओलीले निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रचण्ड निवासमा भएको बैठकमा रामबहादुर थापा बादल र लेखराज भट्ट भने सहभागी थिएनन् । गृहमन्त्री थापाले केही ढिला आउँछु भनेको तर अन्तिमसम्म पनि नआएको एक नेताले भने । भट्ट भने पछिल्लो समय ओली नजिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment