Comments Add Comment

राष्ट्रपतिका कारण राजतन्त्र ठीक भन्ने जमात बढ्यो : महामन्त्री कोइराला

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको बताएका छन् ।

३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको अर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए । यसले गर्दा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने जमात बढेको उनले टिप्पणी गरे ।

पछिल्लो समय नेकपाको आन्तरिक विवाद चुलिँदा विवादमा सं‌लग्न दुबै पक्षको राष्ट्रपतिसँग भेटवार्ता बाक्लिएको छ । पछिल्लो पटक नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि पनि अध्यक्षद्वय ओली  र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए ।

कांग्रेस महामन्त्री डा. कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए । को उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको उनले प्रष्ट पारे ।

राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने तर कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने म होइन हामी भनेर लाग्नुपर्ने महामन्त्री कोइरालाले बताए ।

उनले सभापति देउवाको आलोचना गरे । महाधिवेशनलाई प्रभावित पार्न नै देउवाले विभागहरु गठन गरेको भन्दै उनले भनेका छन्, ‘महाधिवेशन हुन ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् ?’

आफूले सभापतिलाई सधैं सहयोग गरेको, तर देउवाले पार्टीमा एकलौटी गर्न नछोडेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment