Comments Add Comment

सञ्चार माध्यमको लगानी पारदर्शी बनाइन्छ : मन्त्री खतिवडा

६ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यममा हुने लगानी पारदर्शी बनाउने बताएका छन् ।

नागरिकको बढी सरोकार भएको क्षेत्र सञ्चार पनि भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाइने उनले बताए ।

मंगलबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा उनले भने ‘…सञ्चार संवेदनशील क्षेत्र हो । नेपाल सन्दर्भमा सरोकार क्षेत्र भएको सञ्चार हो । यहाँ भएको लगानी पनि पारदर्शी होस्, आफ्नो व्यवसायको पनि साखः होस्’ मन्त्री खतिवडाले भने ।

पत्रकारलाई कामविहीन बनाउन पाइँदैन

मन्त्री खतिवडाले कोरोनालाई देखाएर पत्रकारलाई कामविहीन बनाउन नपाइने बताएका छन् ।

‘कोभिड–१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहीन बनाउन हुँदैन । रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन’ उनले समिति बैठकमा भने ।

रेडियो नवीकरणमा शतप्रतिशत छुट दिएको, सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको उल्लेख गर्दै मन्त्री खतिवडाले सरकारले मिडिया सञ्चालकहरुलाई सक्दो सहयोग र सहुलियत दिएको पनि बताए ।

‘नेपाल राष्ट्र बैकबाट दिने सहुलित ऋणहरु चालू पुँजी थप्ने, ऋणको पुनर्तालिकीकरण गर्ने कुराहरु, ऋणको ब्याज तिर्ने समय बढाइदिने कुराहरु मौद्रिक नीतिले गरिसकेको छ’ उनले भने ।

मन्त्री खतिवडाले थपे, ‘रोजगदारदाता सञ्चार संस्थालाई सन्देश दिन खोजेको तपाईहरुलाई पर्ने समस्या हामी हेर्छौं । श्रमिक पत्रकारलाई जति सक्नुहुन्छ त्यति दिनुस् । सरकारले थप के गर्नुपर्छ सरकार तयार छ ।’

श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको उनको भनाइ छ । सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्गाउन सकिने पनि उनले बताए ।

चाँडै नै विज्ञापन बोर्डको गठन गरेर लोककल्याणकारी विज्ञापन निष्पक्ष ढङ्गले वितरण गरिने समेत मन्त्री खतिवडाले बताएका छन् । पछिल्लो समय २००० पत्रकार विस्थापित भएको भन्ने आएको भन्दै उनले त्यसको विवरण उपलब्ध गराउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment