
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कांग्रेस कमजोर हुँदै गएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति वीपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले मंगलबार सुन्दरीजलमा आयोजित ‘वृक्षारोपण कार्यक्रम’मा बोल्दै उनले पार्टी कमजोर हुनुमा कमजोर नेतृत्व पनि कारक रहेको धारणा राखे ।
नेता पौडेलले कार्यकर्तालाई गुटको पछाडि नलाग्न निर्देशन समेत दिए । उनले भने, ‘कांग्रेसका नेताको पछाडि नलाग्नुहोस्, विचार, सिद्धान्त र आदर्शको पछाडि लाग्नुहोस् ।’
कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सबै मिलेर काँग्रेसभित्रको विवाद अन्त्य गर्नुपर्ने बताए पार्टीभित्रको समस्या समाधानका लागि नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्नेमा उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री दिपक भट्टराईले वीपीको योगदानको स्मरण गरेका थिए ।
विपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा ३८ विरुवा वृक्षारोपण गरिएको थियो । १९७१ भदौ २४ मा जन्मेका वीपीको २०३९ साउन ६ गते निधन भएको थियो ।
प्रतिक्रिया 4