Comments Add Comment

फुटबल प्रशिक्षण तयारी : खेलाडीहरु दुई साता होटलमा, पीसीआर टेष्टपछि मैदानमा

८ साउन, काठमाडौं । कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ ।

कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि लकडाउन लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो । सरकारले चार महिनापछि बुधबार लकडाउन खुल्ला गरेपछि अब खेलकुदको लागि प्रशिक्षण गर्ने बाटो खुलेको हो ।

नेपालले विश्वकप छनोटअन्तर्गत अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा खेल्दैछ । त्यसैका लागि एन्फाले लकडाउन जारी रहेकै बेला जुलाई पहिलो सातादेखि प्रशिक्षण सुरु गर्न पहल गरेको थियो ।

तर युवा तथा खेलकुद मन्त्रालय हुँदै सीसीएमसीसम्म उक्त एजेन्डा पुगे पनि पास हुन सकेको थिएन । अब सरकारले लकडाउन खुल्ला गर्दै भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रशिक्षक र प्रारम्भिक चरणका खेलहरु सुरु गर्न सकिने निर्णय गरेपछि एन्फा पनि फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारीमा लागेको हो ।

त्यसका लागि एन्फाले विभिन्न चरणमा काम गर्ने एन्फा प्रवक्ता किरण राईले अनलाइनखबरलाई बताए ।

लकडाउन खुलेपछि खेलाडीहरु पनि अब प्रशिक्षण गर्न पाइने खबरले खुशी र उत्साहित छन् ।

‘हामी १७ गतेसम्म खेलाडीहरुलाई काठमाडौं बोलाइसक्छौँ । त्यसपछि उनीहरुलाई होटलमा राख्छौँ । त्यसपछि पीसीआरको परीक्षण गर्छौं । त्यसको परीक्षण आउनेबेलासम्म एन्फाको होस्टलहरु सबै स्यानिटाइज गर्छौं । त्यतिबेला खेलाडीको परीक्षणको नतिजा पनि आउँछ,’ प्रवक्ता राईले भने, ‘अनि हामी २९-३० तिर खेलाडीलाई क्याम्प राख्छौं र १ गतेदेखि प्रशिक्षण सुरु गर्ने तयारी छ ।’

राष्ट्रिय टिमका धेरै खेलाडीहरु अहिले उपत्यका बाहिर छन् । त्यसैले एन्फाले अबको एक सातापछि सबै खेलाडीलाई काठमाडौं बोलाइसक्ने जनाएको छ ।

काठमाडौंमा आएपछि दुई साता जति खेलाडीलाई होटलमा राखिने भएको हो ।

एन्फा प्रवक्ता राईले ढिलै भएपछि प्रशिक्षणका लागि अवसर पाएकोमा सरकारलाई धन्यवाद व्यक्त गरे ।

‘हामीले चाँडै प्रशिक्षणको अवसर पाएको भए अझ राम्रो हुन्थ्यो । ढिलै भए पनि प्रशिक्षणका लागि बाटो खुलेको छ । यसको लागि सरकारलाई धन्यवाद भन्नै पर्छ । हामीले यो समयलाई भरपुर उपयोग गर्नुपर्छ,’ राईले भने ।

उनले थपे, ‘हामी आज-भोलिमै प्रशिक्षकलाई कल गरेर पत्र पठाउँछौँ । टिकट पनि मिलाउनुपर्छ ।’ राईले विश्वकप छनोटअन्तर्गत नेपालमै हुने तीन होम म्याचमा सकेसम्म राम्रो प्रदर्शन गर्ने बताए ।

यो पनि पढ्नुहोस एएफसीद्वारा विश्वकप छनोट खेल अक्टोबर र नोभेम्बरमा गर्न प्रस्ताव

२०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियनको दोस्रो चरणको संयुक्त छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा तीन खेल खेल्दैछ । समूह ‘बी’मा रहेको नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ । यसअघि पाँच खेल खेल्दा नेपालले एक खेल मात्र जितेको छ । बाँकी चार खेलमा भने नेपाल पराजित भएको थियो ।

राष्ट्रिय टिमका नम्बर वान गोलकिपर किरण चेम्जोङले लामो समयपछि प्रशिक्षण सुरु हुन खबरले खेलाडीहरु उत्साहित रहेको बताए । ‘चार महिनासम्म हामी फुटबलबाट टाढा भयौं । अब विस्तारै फिल्डमा र्फकने तयारी हुँदैछ । यसले खेलाडीहरु उत्साहित नै छौँ,’ चेम्जोङले भने, ‘तर अझै पूर्णरुपमा कोरोना हटिसकेको छैन । अलि डर-डर पनि छ । तर पनि मुख्य विषय हामी फेरि हाम्रो फ्यानको अघि खेल्न पाउँ भन्ने विश्वास छ ।’

चेम्जोङले घरेलु दर्शकको अघि घरेलु मैदानमा खेल्न प्रतिक्षारत रहेको बताए । लकडाउनका बेला खेलाडीहरुले आफू जहाँ छन्, त्यहीँबाट सामान्य फिटनेस प्रशिक्षणहरु गरिरहेका थिए ।

यस्तै ओलम्पिक छनोट खेल्ने तयारीमा रहेका कराँते खेलाडीहरुले पनि तीन साताअघि प्रशिक्षण सुरु गरिसकेका छन् । त्यस्तै ब्याडमिन्टन बक्सिङको पनि खेलाडीले प्रशिक्षण गर्न थालेका छन् । क्रिकेटका पनि केही खेलाडीहरुले कीर्तिपुरस्थित टीयू मैदानमा रहेको इन्डोर बलमा प्रशिक्षण गर्न थालिसकेका छन् ।

अहिले सबै खेलाडीहरु सुरक्षित रुपमा फेरि प्रशिक्षण गर्नका लागि प्रतिक्षारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment