Comments Add Comment

थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ४८१ नमुना परीक्षण गरिएको थियो, त्यसक्रममा १४७ जनामा संक्रमण पुष्टि भएको हो ।

एक जनाको मृत्यु

गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज माइस्थान घर भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका ७० वर्षीय पुरुषमा श्वासप्रश्वासमा समस्या भए पनि गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको मंगलबार अपरान्ह मृत्यु भयो । मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २४, पर्साका १७, मोरङका ८, सप्तरी र डोटीका ७/७ जना, काठमाडौं र सुर्खेतका ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्वत र रुपन्देहीका ३/३ जना, धनकुटा, सुनसरी, सिराहा, भक्तपुर, ललितपुर, कास्की, डडेलधुरा र कैलालीका २/२ जना तथा झापा, महोत्तरी, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । उनीहरुमध्ये ४३ जनाको मृत्यु भएको छ भने १२ हजार ८४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न अस्पताल तथा आइसोलेसेन सेन्टरबाट १५६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment