Comments Add Comment

रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० मै

८ साउन, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० मा नै गर्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकामा बिहीबार बसेको गुठी संस्थान, ज्यापु समाज, ज्योतिषहरू लगायतको भेलाले शनिबार नै रथारोहण गर्ने निर्णय गरेको गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजुले जानकारी दिए ।

बुधबार दिउँसो पनि यही निर्णय भएको थियो । तर संस्थानले कोरोना भाइरसका कारण भन्दै बुधबार राति नै रथारोहण सम्बन्धी पूर्वसूचना स्थगित भएको घोषणा गरेको थियो ।

बिहीबार महानगरका प्रमुख चिरिबाबु महर्जनसहितको भेलाले बुधबार तय गरिएकै मुहूर्तमा रथारोहण गर्ने निर्णय गरेको हो । चैत २८ गते कोरोनाका कारण रोकिएको रथ बनाउने काम असार १० गतेदेखि फेरि सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको छैन ।

पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका कीर्तिमदन जोशीले रथारोहण दिउँसोको १२:१० देखि १२:२५ सम्म गर्ने र सोही दिन रथयात्रा सुरु गर्नेगरी मुहूर्त जुराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment