Comments Add Comment

राम जन्मभूमिबारे खोजी गर्न सांसदहरुको माग

८ साउन, काठमाडौं । रामको जन्म नेपालमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सांसदहरुले चासो देखाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण सम्बन्धमा छलफल थियो ।

छलफलमा सहभागी सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबारे सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् । सत्यतथ्य पत्ता लगाउनका लागि प्रधानमन्त्रीले भनेको पर्साको ठोरीमा उत्खनन गर्नुपर्ने कतिपय सांसदहरुको सुझाव छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद नारदमुनि रानाले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयलाई सत्यतथ्यमा पुर्याउन पुरातत्व विभागले अनुसन्धान र उत्खनन गरेर अगाडि बढाउनुपर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मिएका हुन् भनेर बोल्दा विरोध नगर्ने र प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएका हुन् भनेर बोल्दा चर्को स्वरमा कराउने प्रवृत्ति ठीक नरहेको भन्दै उनले अनुसन्धानले त्यसलाई पुष्टि गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको उनको भनाइ छ ।

नेकपाकै सांसद सरला कुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएका कारण त्यसबारे पुरातत्व विभागले उत्खनन गरेर यथार्थ बाहिर ल्याउनुपर्ने बताइन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सत्यतथ्य प्रमाणित नभई प्रधानमन्त्रीले बोल्दा प्रश्न उठेको बताइन् ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ, अहिले कत्तिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न गरे ।

प्रधानमन्त्रीले रामबारे व्यक्त गरेको भनाइको आधार र अनुसन्धान कुन चरणमा छ भन्ने विषयमा सरकारले समितिलाई जवाफ दिनुपर्ने उनको माग छ ।

भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्या नेपालमा रहेको अभिव्यक्ति दिएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा केही सांसदहरुले सीताले बच्चा जन्माएको, सीता गुफा लगायत नेपालमा रहेको भन्दै यथार्थ के हो भन्ने अनुसन्धानबाट पत्ता लगाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment