Comments Add Comment

अमेरिकामा ३ चिनियाँ नागरिक पक्राउ

९ साउन, काठमाडौं । भिसामा गलत विवरण लेखेको आरोपमा अमेरिकाले तीनजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । अर्का एकजना चिनियाँ नागरिकलाई पनि पक्राउ गर्ने तयारी अमेरिकाले गरेको छ ।

चौथो व्यक्ति सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेकी एक महिला हुन् ।

अमेरिकी न्याय विभागका अनुसार पक्राउ परेकाहरुले चिनियाँ सेनाका सदस्य नभएको भनेर झूठ बोलेका छन् । अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका धेरै व्यक्तिहरुलाई सोधपुछ गर्दा उनीहरुको चिनियाँ सेनासँग अघोषित सम्बन्ध रहेको पाइएको छ ।

अमेरिकी वकिलहरुका अनुसार चीन सरकारले गोप्यरुपमा आफ्ना सेनाका वैज्ञानिकहरुलाई अमेरिका पठाउँछ र पक्राउ परेकाहरु पनि त्यही योजनाअनुसार अमेरिका आएका थिए । न्याय विभागका वकिल जोन सी डेमर्सले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चिनियाँ सेनाका सदस्य रिसर्च भिसाका लागि आवेदन दिन्छन् र आफ्नो वास्तविक पहिचान लुकाउँछन् । यो हाम्रो खुला समाज र हाम्रो शिक्षण संस्थाबाट फाइदा उठाउने चिनियाँ कम्युनिष्ट पार्टीको योजनाको एक अर्को हिस्सा हो ।’

पक्राउ पर्नुअघि अमेरिकाले चीनका एक जना वैज्ञानिक सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा लुकेर बसेको बताएको थियो । त्यसको एक दिन अगाडि अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो । ती दूतावासका अधिकारीहरु बौद्धिक सम्पत्ति चोरीमा संलग्न रहेको आरोप अमेरिकाले लगाएको छ ।

विहीबार चिनियाँ नागरिकहरु पक्राउ पर्नुअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकाले लगाएका आरोपको खण्डन गरेका थिए । उनले यसको जवाफ चीनले दिने आफ्ना नागरिकहरुको सुरक्षा गर्ने बताएका थिए ।

केही महिनायता कोरोना भाइरस, व्यापार र हङकङको नयाँ सुरक्षा कानुनका विषयमा अमेरिका र चीनबीच तनाव जारी छ । चिनियाँ नागरिक पक्राउको विषयले दुई देशबीचको तनाव थप बढ्ने अनुमान गरिएको छ ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment