Comments Add Comment

सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेका युवकको मृत्यु

९ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो ।

उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृत्यु भैसकेको थियो । मृत्युको कारण सेनाको कुटपिट नै भएको परिवारको दाबी छ । राजकुमारका बुवा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका हुन् ।

सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको उनको भनाइ छ । राजकुमार बिरामी भएपछि गाउँकै मेडिकलबाट औषधि किनेर ल्याएर खुवाएको तर बचाउन नसकिएको बुवा विष्णुलालले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे जानकारी आएको बताए । यसबारे निकुञ्ज प्रशासनसँग बुझ्दा कुटपिटबाट मृत्यु भएको कुरा गलत भएको जानकारी आफूलाई गराएको प्रजिअ भट्टराईले बताए ।

चेपाङ युवकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । उनको अहिलेसम्म पोष्टमार्टम गरिएको छैन । घटना विवादित बन्न सक्ने देखिएकाले आवश्यक सल्लाह र निर्णयपछि मात्रै पोष्टमार्टम गरिने अस्पतालसम्वद्ध स्रोतले जनाएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले प्रहरीले घटनाको मुचुल्का उठाएर पोष्टमार्टम गर्नु नभनेकाले अहिलेसम्म शवको पोष्टमार्टम नगरिएको बताए ।

घोँगी र न्यूरो टिप्न जाँदा कुटिएका थिए राजकुमार

राजकुमार ब्ल्क फ्याक्ट्रीमा काम गर्थे । उनीसहित ७ जना गत साउन १ गते उद्योग बन्द भएकाले निकुञ्ज क्षेत्रमा न्यूरो र राप्ती नदी वरपर घोँगी खोज्न भन्दै गएका थिए । उनीहरुको समूहमा दुई जना महिलासमेत थिए ।

सेनाले निकुञ्ज क्षेत्रमा अबैध रुपमा कोही प्रवेश गरिरहेको देखेपछि उनीहरुलाई बोलाएर कुटपिट गरेको र सोही दिन छाडेको राजकुमारका साथी सन्तलाल प्रजाले बताए । सेनाले महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, गालीगलौज गर्ने, मुढा ओसार्न लगाउने जस्ता काम गराएको पीडितहरुले बताएका छन् ।

निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने निकुञ्जभित्रको ज्युँडी खोलामा घोँगी बटुल्दै गर्दा सेनाले नियन्त्रणमा लिए पनि कुटपिट भने नगरेको दाबी गरे । ‘हाम्रो काम कोही निकुञ्जमा अवैध रुपमा पसेमा तत्काल नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनमा बुझाउने हो,’ गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘महिनामा सेनाले चार–पाँच सय मान्छे समाउँछ के ती सबैलाई कुटेको छ त ? छुटेको यतिका दिनपछि यस्तो आरोप लगाउनु सरासर गलत र निराधार छ ।’

यो पनि पढ्नुहोस चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment