Comments Add Comment

अब बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला हुने

९ साउन, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । ४ महिना लामो लकडाउनका बेला बैंकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु खुला गरेका थिएनन् ।

खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् । सहरी क्षेत्रमा सबै अधिकांश शाखाहरु खुलेका भए पनि ग्रामीण भेगका शाखा कममात्रै सञ्चालनमा रहेका थिए ।

लकडाउन पूर्ण रुपमा हटेसँगै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सबै शाखा खोल्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार अब नियमित झै पुरै सयम सबै शाखाहरुबाट सेवा प्रदान हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

संघका अनुसार कोरोना संक्रमण फैलन त्रास अझै बाँकी रहेकाले सुरक्षा सतर्कता भने अपनाइनेछ ।

बिहीबार राष्ट्र बैंकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन समेत भनेको छ । उक्त निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्नेहुन्छ ।

कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए । यस्तै पछिल्ला दिनमा उनीहरुले सिफ्ट प्रणालीमा आफ्ना शाखा सञ्चालन गरेका थिए ।

बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन बैंकले परिपत्रमा उल्लेख गरेको छ । केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment