Comments Add Comment

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

९ साउन, काठमाडौं । भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए ।

नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले अनलाइनखबरलाई टेलिफोनमा जानकारी दिए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन र कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको बोहरा बताउँछन् ।

नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि उनीहरूले स्थानीयलाई अवरोध गरेका हुन् ।

ब्याँस– १ छाङरु र तिंकरवासी हिमपात हुने पुसदेखि वैशाखसम्म जिल्ला सदरमुकाम खलङ्गालगायत तल्लो भागमा झरेर बस्छन् । जेठदेखि उनीहरू फेरि खेतीपातीका लागि गाउँ फर्कन्छन् ।

त्यसरी गाउँ फर्कने क्रममा त्यहाँका स्थानीय धार्चुला, गब्र्याङ बाटो प्रयोग गर्छन् ।

सहुलियत दरमा हेलिकप्टर चलाउन माग

भारतले बाटो प्रयोगमा अवरोध गरेपछि छाङरु र तिंकरवासीले सहुलियत भाडामा हेलिकप्टरको माग गरेका छन् । वडाध्यक्ष बोहराले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाशबहादु शाहलाई भेटेर यस्तो माग गरेका हुन् ।

साउन १९ गते जनैपूर्णिमाको दिन पूजा गर्न घर फर्कनुपर्ने भएकाले सहुलियत दरमा हेलिकप्टरको व्यवस्था गर्नुपर्ने वडाध्यक्ष बोहराको माग छ । प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नगरे आफूहरूको पूजा रोकिने जानकारी मन्त्री रावललाई बुझाएको ज्ञापनपत्रमा गराएको बोहराले बताए ।

स्थानीयवासी मात्र नभई त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतलाई यस्तो सुविधा अत्यावश्यक भएको उनी बताउँछन् ।

हेर्नुहोस् ज्ञापनपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment