Comments Add Comment

वीरगञ्जको कोभिड अस्पतालमा १७ वर्षकी किशोरीको मृत्यु

९ साउन, वीरगञ्ज । वीरगञ्जको कोभिड विशेष अस्पतालमा भर्ना भएकी एक किशोरीको मृत्यु भएको छ ।

बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षकी किशोरीको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ डा. निरज सिंहले, ‘उहाँलाई बचाउन सकेनौं, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आइसकेको छैन ।’

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए ।

‘अक्सिजन मेन्टेन भइरहेको थिएन, ७५ प्रतिशत देखाइरहेको थियो । छातीको एक्सरे गरेर हेर्दा फोक्सो पुरै खराब देखिएको थियो’ उनले भने ‘कोरोना संक्रमणको आशंका भएपछि गण्डक अस्पतालमा रेफर गरेका हौं ।’

उनमा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको डा अन्सारीले बताएका छन् । इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ

गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment