Comments Add Comment

बाढीपहिरोबाट प्रभावित बालबालिकालाई तत्काल सहयोग आवश्यक : युनिसेफ

१० साउन, काठमाडौं । बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय गैर सरकारी संस्था युनिसेफले बाढी प्रभावित नेपालसहित दक्षिण एसियाली देशका ४० लाखभन्दा बढी बालबालिकालाई तत्काल सहयोग आवश्यक रहेको बताएको छ ।

खासगरी नेपाल, बंगलादेश, भारत र भुटानमा विगत केही हप्तादेखिको अविरल वर्षाको कारण आएको बाढी तथा पहिरोबाट दशौं लाख बालबालिकाका साथै उनीहरूका परिवारहरू पनि प्रभावित भएको युनिसेफले उल्लेख गरेको छ ।

‘बाढी प्रभावित अनुमानित ४० लाखभन्दा बढी बालबालिकाहरूलाई तत्काल सहयोग आवश्यकता रहेको छ भने अन्य लाखौं बालबालिकाहरू जोखिममा रहेका छन्,’ दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले भनेका छन्, ‘अत्यन्तै प्रतिकूल मौसमले निम्त्याउने संकटको सामना गर्दै आइरहेको यस क्षेत्रमा हालैको भारी वर्षा, बाढी र लगातारको पहिरोले प्रभावित क्षेत्रका बालबालिका तथा उनीहरूका परिवारलाई ठूलो संकटमा पारेको छ ।’

प्रभावित केही क्षेत्रहरूमा देखिएको कोभिड–१९को संक्रमण त्यसको नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सावधानीको कारण जटिलता थपिएको उनले उल्लेख गरे ।

युनिसेफले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘युनिसेफले आफ्नो प्रतिकार्यलाई थप सशक्त पार्दै प्रभावित बालबालिका तथा परिवारहरूका तात्कालीन आवश्यकता पूरा गर्न सघाउनको लागि सम्बन्धित सरकारहरू र मानवीय सहायता संस्थाहरूसँग स्थलगत रूपमै निकट समन्वय गरिरहेको छ, तर कोभिड–१९महामारी तथा त्यसको नियन्त्रण र रोकथामका सावधानीहरू पालना गर्नुपर्ने हुँदा प्रतिकार्यलाई थप जटिल बनाइदिएको छ ।’

नेपाल, बंगलादेश, भारत र भुटानमा गरी ७०० भन्दा बढीले बाढीपहिरोमा ज्यान गुमाएका छन् । साथै दर्जनौं मानिसहरू हराइरहेका छन् । सडक, पुल, रेल मार्ग तथा विमानस्थलमा पुगेको क्षतिका कारण थुप्रै क्षेत्रहरू पहुँच बाहिर छन् । बालबालिकाहरूका लागि सफा पानी, रोग फैलिन नदिनको लागि आवश्यक सरसफाइ सामाग्री, खाद्यान्न र आश्रय स्थलमा खेल्ने ठाउँ अत्यावश्यक हुने युनिसेफको भनाइ छ ।

‘कोभिड–१९महामारीकै समयमा थपिएका जलवायु परिवर्तन तथा अत्यन्तै प्रतिकुल मौसमी घटना नै हालका लागि यो क्षेत्रका सबै भन्दा ठूला समस्या हुन्,’ जिनगफले भनेका छन्, ‘यी खतराले यस क्षेत्रका बालबालिकाहरूको लागि निम्त्याउने चुनौतीलाई सम्बोधन गर्नको लागि तात्कालीन सहायता, थप स्रोतसाधन तथा सृजनात्मक कार्यक्रम अत्यन्तै आवश्यक छन् ।’

युनिसेफको तथ्यांकअनुसार नेपालमा असार २५ यताको भारी मनसुनी वर्षापछि आएको बाढी पहिरोले २० जिल्लाका विभिन्न स्थानहरूमा प्रभावित पारेको छ, जसको कारण बिहीबारसम्म १०० जनाभन्दा बढीले ज्यान गुमाउनुको साथै ८७ जना घाइते भएका छन् । बेपत्ता भएका ४८ जनाको पनि मृत्यु भैसकेको आशंका युनिसेफले गरेको छ । १० हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका र सात हजार पाँच सय जना विस्थापित हुन पुगेको युनिसेफले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment