Comments Add Comment

वीरगञ्जको कोरोना अस्पतालमा एक वृद्धको मृत्यु

११ साउन, वीरगञ्ज । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ ।

नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनी वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ । गण्डक कोभिड अस्पतालमा ५३ जनालाई भर्ना गरेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment