Comments Add Comment

‘राहत पाउन मुख्यमन्त्रीको जिल्लाको हुनुपर्ने रहेछ’

११ साउन, सुर्खेत । गत असार २५ गते जाजरकोट बारेकोट गाउँपालिकाको वडानम्बर ४, ५ र ६ मा पहिरोले पुरिँदा १४ जनाको मृत्यु भयो भने दुईजना बेपत्ता छन् ।

मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । पहिरोले बेघर बनाएको १७ दिन पुग्दा पनि प्रदेश र संघीय सरकारबाट भने कुनै सहयोग पाएका छैनन् ।

‘हामीले यहाँ खाना पाएका छैनौं, विद्यालयको बास छ,’ बारेकोट-४ का पहिरो पीडित मोतीलाल बिकले भने, ‘विपद्का बेला सरकारको सहयोग पाउँन त मुख्यमन्त्रीको जिल्लाको हुनु पर्ने रहेछ ।’

बारेकोट गाउँपालिकाको क्षति विवरणअनुसार एक हजार ४५ घरपरिवार विस्थापित भएका छन् । ४७७ घर उच्च जोखिममा र १९७ घर जोखिममा रहेका छन् । पहिरोले बारेकोट-४ को गोठगाउँ, जिरी र सार्की टोल, ५ नम्बर वडाको कालाखोली पाखा, ६ को धुमलगायतका क्षेत्रमा क्षति पुगेको छ ।

बारेकोटका वासिन्दाले ८ पुस २०७५ मा कालीकोटको पलाता गाउँपालिका वडा नं. १ मा भीषण आगलागीको घटना सम्झिए । त्यहाँ आगलागीमा परी ३० घर जलेर खरानी भए । मुख्यमन्त्री शाहीकै गृह जिल्लामा भएको उक्त घटनापछि प्रदेश सरकारले तत्काल राहत र उद्धारका लागि कुनै कसर बाँकी राखेन ।

हेलिकप्टरमार्फत तत्काल उद्धार र राहतका काम अघि बढे । प्रदेश सरकारले पीडित परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत पनि उपलब्ध गरायो । घटनाको दुई दिनपछि हेलिकप्टरमार्फत बारेकोट पुगेका संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेत र प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट स्थानीयले आश्वासनमात्र पाए, सहयोग पाएनन् ।

वनमन्त्रीको आश्वासन

संघीय सरकारका वनमन्त्री बस्नेत जाजरकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी, मुख्यमन्त्री शाही, पूर्वमन्त्री सत्य पहाडी, सांसद भैरवसुन्दर श्रेष्ठ, राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मालगायत घटनाको दुई दिनपछि असार २८ गते घटनास्थल पुगेर त्यही दिन नै फर्किए ।

मन्त्री बस्नेतले पीडित परिवारलाई भेटेर आवश्यक राहत उपलव्ध गराउने, उद्दार गर्ने र विस्थापित परिवारको सरकारले व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।

‘वनमन्त्री, मुख्यमन्त्रीलगायतको टोली आए तर उनीहरूले आश्वासनबाहेक अन्य केही दिएनन्,’ पहिरोपीडित गोपाल सार्कीले भने, ‘पीडितलाई आश्वासन होइन, राहत चाहिएको छ, पाल चाहिएको छ, चामल चाहिएको छ । नेताहरूको मिठो भाषण खान नमिल्ने रहेछ ।’

झण्डै ९ करोडको क्षति

पहिरोले घर भत्किँदा बारेकोटमा ६ करोड ४८ लाख १७ हजार क्षति भएको अनुमान गरिएको छ । त्यस्तै १ करोड ३६ लाख ४४ हजार ४ सय बराबरको शौचालयमा क्षति पुगेको छ ।

४१ लाख ८० हजार बराबरको खानेपानी संरचना बगेको पाइएको छ भने कुल ८ करोड ८८ लाख ८६ हजार ४ सय बराबरको आर्थिक क्षति भएको गाउँपालिकाको विवरण छ ।

बस्ती सार्नुपर्छ : सांसद सिंह

स्थलगत अवलोकन गरेर हालै वीरेन्द्रनगर फर्किएका सोही क्षेत्रका प्रदेशसभा सांसद गणेशप्रसाद सिंहले स्थिति दयनीय रहेको बताए । ‘त्यहाँको अवस्था हेर्दा दयनीय छ । विश्व खाद्य कार्यक्रमले केही राहत दिएको छ, हामीले केही राहत लिएर गएका थियौं, त्यो पर्याप्त छैन,’ उनले भने ।

बारेकोटमा जमिन चिरा चिरा परेको सांसद सिंहको भनाइ छ । त्यहाँका नागरिकको जीउधनको रक्षाका लागि पनि उपयुक्त स्थानमा बसाइँ सार्न आवश्यक देखिएको सांसद सिंहले बताए ।

‘त्यहीँ राख्ने हो भने पनि त्यहाँको भूबनोटको वैज्ञानिक परीक्षण गराएर उनीहरूलाई पुनस्र्थापित गर्न आवश्यक छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment