Comments Add Comment

बन्द भयो रौतहटको श्रीराम सुगर मिल

११ साउन, रौतहट । रौतहटको गरुडामा रहेको जिल्लाकै पहिलो श्रीराम सुगर मिल्स बन्द हुने भएको छ । झण्डै दुई दशकअघि रौतहटको मध्य बजारमा स्थापना भएको उद्योग बन्द भएको हो ।

गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ ।

मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

विविध कारणले किसानको उँखुको रकमसमेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौं रुपैयाँ नोक्सानी बेहोर्नु परेको सूचनामा उल्लेख गरिएको छ ।

हरेक वर्ष नोक्सानीमा गइरहेको कम्पनीको आर्थिक वर्ष ०७५/७६ सम्ममा कुल घाटा २ अरब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेको श्रीराम सुगर मिल्सले जनाएको छ ।

यस आर्थिक वर्षमा मिलले १३ दिन मात्रै उखु क्रसिंङ्ग गरेको थियो । मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिना देखिको तलब तथा संचयकोषको रकमसमेत दिन सकेको छैन ।

नगदे बालीको रुपमा रहेको उँखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उँखु उत्पादक सँघले जनाएको छ । यसै गरी अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

आइतबारदेखि उद्योग बन्द भएको जानकारी गराउँदै मिलले तिर्नु पर्ने कर्मचारीहरुको सबै किसिमको तलब भता क्रमशः भुक्तानी गर्दै जाने जनाएको छ ।

उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिलको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको मिलले जनाएको छ ।

सम्बन्धित निकायबाट आवस्यक अनुमति प्राप्त हुनासाथ उद्योगको सम्पत्ति बिक्री गरेर कार्यरत श्रमिक, कर्मचारी तथा उँखु किसानहरुलाई प्राथमिकताका साथ भुक्तानी दिदै जाने मिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment