Comments Add Comment

पौडेल समूहको निष्कर्ष : विभागमा मनोनयन देउवाको महाधिवेशन प्रभावित पार्ने खेल

फाइल तस्वीर

११ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छ । यसलाई रोक्न कसरी अगाडि बढ्ने भन्ने छलफल भएपनि ठोस निर्णय नभइसकेको नेताहरुले बताएका छन् ।

कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ । तर १३ औं महाधिवेशनबाट सभापति बनेका देउवाले चार वर्षे कार्यकालभर विभाग बनाएनन् । तर २०७७ फागुन ७–१० मा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा विभागमा मनोनयन तीब्र  बनाएका छन् ।

त्यसअघि ११ पुस, २०७६ मा पौडेल र कृष्ण सिटौला समूहको बहिस्कारका बाबजुद बहुमतले विधान संशोधन गर्दै विभागहरु २८ बाट ४७ बनाउने निर्णय गरेको थियो । त्यसपछि महाधिवेशनको कार्यतालिका, नेविसंघबारे सहमति जुटे पनि विभागहरु थप्ने प्रस्तावमा पौडेल समूहको विरोध कायमै थियो ।

तर देउवाले ४७ वटै विभागमा पदाधिकारी र सदस्य मनोनयन तीब्र बनाएका छन् । वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइाला र कोषाध्यक्ष सीतादेवी यादवले पत्र लेखेर असहमति जनाए पनि देउवाले मनोनयन रोकेका छैनन् ।

पौडेल समूहले भने विभागहरुमा मनोनयन विधान विपरीत र आसन्न महाधिवेशन प्रभावित पार्ने खेल भएको बताएको छ । ‘वर्तमान सभापतिले आसन्न महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाका लागि काम गर्न थाल्नु भएको छ’ पौडेल समूहका एक नेता भन्छन्, ‘यो विधान विपरीत छ र, यसले पार्टीको अधिवेशन स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका बढाएको छ ।’

आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकमा यसलाई कसरी रोक्ने भन्नबारे छलफल भएको छ । एक नेताका अनुसार यसबारे पार्टी सभापति देउवालाई भेटेरै कुराकानी गर्ने र त्यसपछि पनि नसच्चिए चाल्ने सम्भावित कदमबारे छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment