Comments Add Comment

परिवारभित्रै असुरक्षित भए महिला

१२ साउन, कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा एक किशोरी गर्भवती भएपछि उनी आफ्नै बाबुबाट बलात्कृत भएको खुल्यो । ६२ वर्षीय बाबुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

शुक्रबार कञ्चनपुरको बेरौली नगरपालिकामा ११ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय बुवा पक्राउ परे । गत साउन २ गते कैलालीको घोडाघोडी नगरपालिकामा एक पुरुषले आफ्नै २ छोरीलाई बलात्कार गरेको आरोप लाग्यो । आरोपी पुरुष अझै पक्राउ परेका छैनन् ।

त्यसको केही दिन पहिले ३१ असारमा बैतडीमा पनि यस्तै बर्बर घटना सार्वजनिक भएको थियो । जिल्लाको पञ्चेश्वरमा ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बाबु पक्राउ परे । सोही दिन बैतडीमै छोराले आमालाई बलात्कार गरेको घटना सार्वजनिक भयो । बैतडीको पुर्चाैडीमा ३२ वर्षीय छोराले ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोप लागेपछि छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसको केही समयअघि पनि कैलालीमा छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका थिए । जिल्लाको चुरे गाउँपालिका-५ भासूँ बजारमा बस्दै आएका ५४ वर्षका पुरुषले १३ वर्षकी छोरीलाई रुखमा बाँधेर बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बाबुआमा र सन्तानबीचको सम्बन्ध संसारमै सबैभन्दा पवित्र मानिन्छ । तर, यति पवित्र सम्बन्धलाई लत्याउँदै घृणित हर्कत गर्ने यौनपिपाशुहरु समाजमा बढिरहेका छन् । सुदूरपश्चिममा पछिल्लो समय सार्वजनिक भएका उल्लेखित घटनाहरुले चिन्ताजनक स्थितिको संकेत गर्छन् ।

कैलालीको घोडाघोडीमा दुई किशोरीले बाबुबाट हिंसा भोगिरहेको कुरा केही आफन्तलाई पनि थाहा थियो । तर, उनीहरूले त्यसमा खासै चासो दिएनन् ।

सुरुमा सामान्य दुर्व्यवहार हुँदा पीडितको पक्षमा कसैले नबोल्दा पछि अवस्था जटिल बनेको प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

‘ती बालिकाले पनि आफन्तहरूलाई आफ्नो पीडा पोखेका थिए । तर, कसैले चासो दिएनन्,’ उनले भने ‘पीडितको गुनासो सम्बोधन नभएपछि पिडकको मनोबल थप बढ्यो र अपराध भयो ।’

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले समाजबाट नैतिकता हराउन थालेकोसमेत टिप्पणी गरे । मानसिक समस्याका कारण पनि हाडनाता करणी बढेको उनको विश्लेषण छ । ‘कैलालीमा त शिक्षकले नै छोरी बलात्कार गरेको कुरा आयो । शिक्षकजस्तो व्यक्तिमा चेतनाको कमि त थिएन होला । मानसिक समस्या भएको हुन सक्छ,’ उनले भने ।

महिला अधिकारकर्मी गोमा आचार्य पनि समाजमा मानसिक समस्या बढेका कारण यस्ता जघन्य अपराध मौलाएको बताउँछिन् । उनी भन्छिन्, ‘परिवारमा बाबुबाट छोरी बलात्कृत हुनु सबैभन्दा बर्बरता र बिडम्बना हो । अशिक्षा बेरोजगार र मानसिक समस्याकाका कारण यस्ता घटना बढेका हुन् ।’

उनले समुदायस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताइन् । जनचेतनाको कमी र लागूपदार्थ दूव्र्यसनीका कारण पनि यस्ता घटना बढेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment