Comments Add Comment

वीरगञ्जका उद्योगमा भेटिए भारतीय कामदार

११ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका विभिन्न उद्योगको अनुगमन गरेको छ । लकडाउन खुकुलो गरेसँगै खुलेका उद्योग कलकारखानामा भारतीय कामदार आएको गुनासो पछि आइतबार अनुमगमन गरिएको हो ।

खुल्ला सीमाका कारण लुकिछिपी नेपाल प्रवेश गरेका भारतीय नागरिकले नै वीरगञ्जमा कोरोना फैलाइरहेको आरोप कतिपयले लगाइरहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले दुई उद्योगको अनुमगमन गरेको थियो । बस्नेत नेतृत्वको टोलीले जगदम्बा इन्टरप्राइजेज र नारायणी स्टिल उद्योगमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका जीतबहादुर भण्डारी सहितको टोली पनि अनुगमनमा छ ।

जगदम्बा इन्टरप्राइजेजका सीइओलाई नै केही दिनअघि कोराना संक्रमण पुष्टि भएको छ । हार्ट सर्जरी गरेको उनी नारायणी अस्पताल अन्र्तगतको गण्डक कोरोना अस्पतालको आईसीयूमा उपचाररत छन् ।

वीरगञ्ज–२१ लिपनीविर्तामा विश्वकर्मा सिमेन्ट, श्री सिमेन्ट, इन्टरनेशनल सिमेन्ट प्रालिमा टोलीले अनुगमन गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले प्रशासनको निर्देशन अनुसार तीन वटा उद्योगको अनुगमन गरेर आवश्यक कागजात ल्याइएको बताए ।

‘उद्योगको दर्ता नवीकरणको अवस्था बुझ्यौं, स्वास्थ्य सुरक्षा सतकर्ता ठीकठीकै अपनाएको पाइयो । कर्मचारी विवरण लिएका छौं’ उनले भने ‘ तीन वटै कम्पनीमा भारतीय कामदार रहेको पाइएको छ । विवरण र कागजपत्र प्रशासनमा बुझाएका छौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले ५० वटा उद्योगको कर्मचारी विवरण माग गरेर अनुसन्धान गर्ने तयारी गरिएको बताए ।

‘उद्योग प्रतिष्ठानमा भारतीय कामदार आएको र उनीहरुबाटै कोरोना संक्रमण फैलिएको गुनासो आइरहेको छ । उद्योग प्रतिष्ठानमा कति कर्मचारी छन्, भारतबाट कति ल्याइएको छ अनुगमन गरिरहेका छौं ।’ उनले भने ‘उद्योगमा वदमासी भएको पाइए कारबाही गर्ने रणनीति हामीले लिएका छौं ।’

उद्योग प्रतिष्ठानले पीसीआर विधिबाट परीक्षण गराउँदा सशुल्क गराउनुपर्ने र संक्रमित भेटिए आइसोलेटेड गर्ने व्यवस्था पनि उद्योगमै मिलाउनुपर्ने नीति लिने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment