Comments Add Comment

दया, विपिनदेखि पलसम्म, कलाकारलाई भिडियो मै भ्याई नभ्याई

लकडाउन पूर्ण रुपमा खुलेपनि चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । चलचित्रको छायांकनमा व्यस्त हुनुपर्ने धेरै कलाकार अहिले घरमै छन् ।

तर, सरकारले लकडाउन खुकुलो बनाएपछि सुरु भएको म्यूजिक भिडियोको छायांकन भने ह्वात्तै बढेको छ । युटुबमा तीजका गीतदेखि अन्य विभिन्न गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । युटुबमा आउने भ्यूजमा कोही मेकर मख्ख छन् भने कोही मेकर भ्यूज नपाएर निराश छन् ।

अहिले चलचित्रको अभिनयमा व्यस्त हुने कलाकारहरु पनि म्यूजिक भिडियोमा व्यस्त देखिन थालेका छन् । यसमा सबैभन्दा अगाडि नायक पल शाह छन् । हुनत, पलको करिअरको सुरुवात नै भिडियोबाट भएकाले पनि उनी अहिले पनि सर्वाधिक महंगा मोडल हुन् । उनले लगातार सरोज वलीको भिडियोमा काम गरिरहेका छन् ।

नायिका आँचल शर्मा पनि भिडियोमा व्यस्त छिन् । आँचलले पनि लकडाउन खुलेपछि केही भिडियोमा काम गरिसकेकी छिन् । आँचल लकडाउन अगाडि पनि चलचित्र भन्दा भिडियोमा नै व्यस्त देखिने मोडल हुन् ।

चलचित्रको पर्दामा फरक अभिनय गरेर चर्चामा आएका नायक दयाहाङ राई र विपिन कार्की पनि भिडियोमा व्यस्त छन् । दयाले अभिनय गरेको निकेश खड्का निर्देशित एक भिडियो सार्वजनिक भैसकेको छ भने उनले निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको २ वटा भिडियोमा काम गरेका छन् ।

नायक विपिन कार्कीले हालै निकेश खड्काले निर्देशन गरेको ‘डर छैन’ बोलको म्यूजिक भिडियोमा काम गरे । सन्तोष लामाको आवाज रहेको यो गीतमा विपिनलाई भरियाको भूमिकामा देख्न सकिन्छ ।

नायिका केकी अधिकारी पनि म्यूजिक भिडियोमा अभिनय गर्न व्यस्त छिन् । उनले, प्रकाश सपुतको निर्देशनमा बनेको तीजको गीतको भिडियोमा फरक शैलीको अभिनय गरेकी छिन् ।

यी बाहेक भिडियोमै काम गरिरहेका मोडलहरु पनि व्यस्त हुन थालेका छन् । चलचित्रको काम सुरु नहुँदा कलाकारलाई एक त आर्थिक रुपमा भिडियोले सहयो गरेको छ भने अर्कोतिर अभिनयको प्यास पनि मेटाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment