Comments Add Comment

बिष खाएका संक्रमितको परिवारका ५ जनामा कोरोना संक्रमण

१२ साउन, सप्तरी । बिष खाएर उपचार गराउन आएका सप्तरीका पुरुष कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा उनको परिवारका अन्य सदस्य पनि संक्रमित देखिएका छन् ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– २ का ५० बर्षीय पुरुषमा गत साउन ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । विष खाएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी जाँच गराइएको थियो ।

सोमबार उनीहरुको नतिजा आउँदा पुरुषको परिवारका ५ जना र सम्पर्कमा आएका गाउँका एक जना संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

पुरुषको परिवारका ४०, २२, ५१, २९ र २७ बर्षीय पुरुष संक्रमित पाइएका छन् । यस्तै, उनको सम्पर्कमा आएका वडा नम्बर ६ का २२ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएका व्यापारी सम्पर्कमा आएका २ जना संक्रमित

भारतबाट आएर कोरोना संक्रमित भई मृत्यु भएका राजविराज ६ निवासी ७२ बर्षीय व्यापारीको सम्पर्कमा आएका थप दुई जना संक्रमित पाइएका छन् ।

राजविराज नगरपालिका वडा नम्बर ३ का २४ बर्षीय र वडा नम्बर ८ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु मृतक बृद्वसँग सम्पर्कमा आएका व्यक्ति भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

योसँगै मृतक बृद्वको सम्पर्कमा आएका ३१ जना संक्रमित पाइएका छन् । बृद्वको सम्पर्कमा आएका आशंकित ५ सय जतिको स्वाब संकलन गरिएपनि नतिजा आइसकेको छैन ।

क्वारेन्टिनका ७ जना संक्रमित

आइतबार यी ६ जनासहित जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४ बर्षीय बालकसमेत छन् ।

बलान बिहुल गाउँपालिकाका ७ जना संक्रमित देखिएका छन् । यो गाउँपालिकाको वडा नम्बर १ का २६ बर्षीय पुरुष, वडा नम्बर २ का २० बर्षीय पुरुष, वडा नम्बर ३ का ४, १० र २० बर्षीय पुरुष, वडा नम्बर ४ का २३ र ३५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा जाँच गराउँदा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment