Comments Add Comment

भारतीय नागरिक लुकेर आउँदा कोरोना फैलियो : मुख्यमन्त्री राउत

वीरगञ्जमा ५ सय बेडको कोरोना अस्पतालको माग

१३ साउन, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज र राजविराजमा लुकिछिपी नेपाल छिरेका भारतीय नागरिकका कारण कोरोना संक्रमण फैलिएको बताएका छन् । उनले सीमा क्षेत्रमा कडाई गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेको बताए ।

‘खुल्ला सीमाका कारण झुण्ड झुण्ड भारतीय नागरिक आएका छन् । उनीहरुबाट नै कोरोना संक्रमण फैलिएको छ’ उनले भने ‘सीमा क्षेत्रमा कडाइ नगरी हुँदैन, उताबाट मानिस आउन दिइरहने हो भने महामारी नियन्त्रण भन्दा बाहिर जान्छ । सुरक्षा अधिकारीसँग यस विषयमा छलफल भइसकेको छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघमा मंगलबार आयोजित सर्वपक्षीय छलफलमा मुख्यमन्त्री राउतले विषम परिस्थितिको सामना गर्न राजनीतिक दल एक हुनुपर्ने बताए ।

‘महामारी नियन्त्रण संघीय सरकारको जिम्मेवारी हो भनेर हामी बसेका छैनौं । सकेको सहयोग गरिरहेका छौं । अहिले एक अर्कालाई दोष दिएर पार लागिदैन’ मुख्यमन्त्रीले भने ‘वीरगञ्जमा तीन जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि जुन किसिमले व्यवस्थापन भयो । अहिले त्यसरी नै काम हुनुपर्छ । त्यसका लागि यहाँका राजनीतिक दल एक हुनुपर्छ ।’

नारायणी अस्पताल केन्द्र सरकारको मातहत भएपनि मलेकुलर ल्याब स्थापनाका लागि ५० लाख, खानाका लागि २५ लाख र लाखौं मुल्यको अन्य सामाग्री प्रदेश सरकारले सहयोग गरेको उनले बताए ।

वीरगञ्जमा कोभिड अस्पताल स्थापनाका लागि ठाउँ छनौट गरिसकेपछि प्रदेश सरकारले सक्नेजति आर्थिक सहयोग दिने उनले वाचा गरे ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले नागरिकको जीवन रक्षाका लागि आवश्यक कामका लागि मन्त्रालय पछि नहट्ने बताए ।

छलफलमा सहभागी अन्यले वीरगञ्जमा कम्तीमा ५ सय बेडको कोरोना अस्पताल आवश्यक रहेको बताएका छन् । वीरगञ्जको स्थिति बिग्रदै गएकोले यहाँका बासिन्दालाई बचाउनका लागि कोरोना अस्पताल तत्काल बन्नुपर्ने उनीहरुको धारणा छ ।

त्यसैगरी पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, चिकित्सक स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने, समन्वय र सहकार्य गर्नुपर्ने पनि वीरगञ्जबासीले माग गरेका छन् ।

सांसद प्रदीप यादवले वीरगञ्जका लागि १० थान भेन्टिलेटरको तत्काल प्रबन्ध हुनुपर्ने, प्राइभेट अस्पतालमा काम गर्ने चिकित्सकलाई पनि कोरोना संक्रमितको उपचारमा खटाउनुपर्ने, प्रमुख जिल्ला अधिकारीले महामारी नियन्त्रण तथा रोकथामका लागि पुरा अधिकार प्रयोग गर्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदीले वीरगञ्ज चार महिना पहिलेकै अवस्थामा फर्किएको बताए । वीरगञ्जलाई बचाउन तत्काल काम गर्नुपर्ने अवस्था रहेको उनको तर्क छ । संघीय समाजवादी पार्टीका नेता रामनरेश यादवले वीरगञ्जमा सरोकारवालाबीच समन्वय र सहकार्यको अभाव देखिएको बताए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्याय, डा. निरज सिंहलगायतले वीरगञ्जको समस्या र समाधानका उपायका बारेमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment