Comments Add Comment

कोरोना संक्रमण बढेपछि प्रदेश २ का स्थानीय तहले गर्न थाले ‘लकडाउन’

१३ साउन, जनकपुरधाम । सरकारले लकडाउन हटाए पनि प्रदेश २ का स्थानीय तहहरुले अति आवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न शुरु गरेका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि सप्तरीका चार वटा स्थानीय तहले आफ्नो क्षेत्रभित्रका अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

सदरमुकाम राजविराज नगरपालिकाले लकडाउनको घोषणा गरेको छ भने यहाँ स्थानीय प्रशासनले पनि निषेधाज्ञा जारी गरेको छ । गत साउन ७ गतेदेखि नै राजविराजका अति आवश्यकबाहेकका सेवा बन्द छ ।

संक्रमित बढ्दै गएपछि मंगलबारदेखि थप २ वटा स्थानीय तहले अनिश्चितकालका लागि अति आवश्यकबाहेकका सेवा बन्द गरेको छ । राजगढ र अग्निसाइर कृष्णासावरण गाउँपालिकाले मंगलबारदेखि आफ्नो क्षेत्रमा लकडाउन गरेको छ ।

शम्भुनाथ नगरपालिकाले बुधबारदेखि अनिश्चितकालका लागि अति आवश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको मेयर योगेन्द्रप्रसाद चौधरीले बताए ।

समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने भन्दै सतर्कता अपनाउनका लागि आवश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र यादवले बताए ।

यस्तै, धनुषाको शहीद नगर नगरपालिकाको समेत अति आवश्यकबाहेकका कामकाज बन्द गरिएको मेयर उदय बरबरियाले जानकारी दिए । यो नगरपालिकामा एक साताका लागि अति आवश्यकबाहेकका कामकाज स्थगित गरिएको छ ।

तीन दिनअघि शहीद नगरपालिका ८ का ३८ बर्षीय युवकको कोरोना संक्रमण भएर मृत्यु भएको थियो । उनको मृत्युपछि कन्ट्याक्ट ट्रेसिङ्लाई प्राथमिकता दिँदै अति आवश्यकबाहेकका सेवा बन्द गरिएको मेयर बरबरियाले बताए ।

यी स्थानीय तहमा सार्वजनिक स्थानमा भीडभाड नगर्न, गोष्ठी कार्यक्रम नगर्न, व्यापार, व्यवसाय बन्द गर्न, हाटबजार नलगाउन आग्रह गरिएको छ ।

सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्किन र निस्किनु नै परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा जरुरी काम भए सामाजिक दूरी कायम गरेर गर्नसमेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment