Comments Add Comment

काठमाडौंमै संकट देखियो, के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

काठमाडौं प्रवेश गर्नेहरुको नागढुंगामा स्वाब संकलन गरिँदै । तस्वीर : आर्यन धिमाल

१४ साउन, काठमाडौं । सत्तारुढ दलका नेता र सरकार सञ्चालक आन्तरिक झगडामा रुमलिइरहेका बेला देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन ।

मानिसहरुको आवत–जावतलाई व्यवस्थित बनाउनुपर्ने गृहलगायत सरोकारावाला मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिमबारे उचित ध्यान दिएको देखिँदैन ।

काठमाडौंभित्रैका दुईवटा दृष्टान्त हेरौं :

महाबौद्ध क्षेत्रमा व्यापार गर्ने एकै परिवारका पाँच सदस्यमा शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । काठमाडौंको महावौद्ध त्यस्तो ठाउँ हो, जहाँ होलसेल पसल प्रशस्त छन् र उपत्यकाका विभिन्न स्थानका व्यापारी ती होलसेलमा सामान किन्न जान्छन् ।

महावौद्धको संक्रमित परिवारकी एक महिला सदस्य १७/१८ दिन पहिले भारतको सीतामढीबाट आएको पाइएको छ । उपत्यका बाहिरबाट आउन सम्बन्धित वडा वा स्थानीय तहको सिफारिस चाहिन्छ । तर, भारतबाट उनी कसरी आइन् ? कसैलाई थाहा छैन । नाकाहरुमा कतै रेकर्ड पनि छैन । काठमाडौं आएपछि उनी परिवारसँगै बसिन् । र, पाँचैजना संक्रमित भए ।

महाबौद्धको व्यस्त बजारमा पसल चलाउने यो परिवारको सम्पर्कमा कोको आए, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले खोजी गर्न भ्याएको छैन । ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘संक्रमितको सम्पर्कमा कतिजना आए ? संक्रमणको स्रोत के हो ? हामी बुझ्दैछौं ।’

काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखाका फोकल पर्सन ज्ञानु ओलीका अनुसार वडा नम्बर २७ मै पर्ने ज्याठामा अर्का एक जनामा पनि संक्रमण देखिएको छ । त्यसैले दुबै ठाउँको गरी मंगलबार ३०० नमूना संकलन गरिएको छ ।

मंगलबार नेपाल प्रहरीको हेडक्वार्टर, नक्सालमा कार्यरत २३ जनामा कोरोना संक्रमण पुष्टि भयो । आइतबार मात्र प्रहरी हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुकै सम्पर्कमा आएकाहरुको खोजी गर्दा थप २३ जनामा संक्रमण देखिएको हो । तर, यति ठूलो संख्यामा प्रहरी कसरी संक्रमित भए भन्ने पत्ता लागिसकेको छैन ।

व्यापारीहरुको भीडभाड हुने महावौद्ध र सुरक्षाकर्मीहरुको संगठित गतिविधि हुने प्रहरी हेडक्वार्टरका यी दुईवटै घटनाले काठमाडौं उपत्यका थप जोखिममा परेको संकेत मिलेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । विज्ञहरुले मात्र होइन, समान्य मानिसले हेर्दा पनि काठमाडौंमा कोरोना फैलन थालेको यी घटनाबाट प्रष्टै देखिन्छ ।

उपत्यकामा यसअघि नै स्थानीयमा भाइरस संक्रमण देखिइसकेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न अस्पतालमा अन्य रोगको उपचार गराउन जाँदा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये धेरैको संक्रमण स्रोत भेटिएन ।

०००

नेपालमा कोभिड–१९ संक्रमण सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आकलन मेल खाएको छैन ।

एक समय नेपालमा संक्रमण नै छिर्दैन भनेर दाबी गरिरहेका मन्त्रालयका अधिकारीहरुले केही समयपछि कोरोना लागेर कसैको मृत्यु हुँदैन भन्न थाले । यो आकलन पनि फेल खाएपछि उनीहरुले समुदायमा संक्रमण फैलिँदैन भन्न थालेका थिए ।

तर, पछिल्लो दुई सातामा वीरगञ्ज, राजविराज र काठमाडौंलगायतका स्थानमा एकै ठाउँमा धेरै संक्रमित भेटिन थालेपछि उनीहरु नाजावाफ छन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यसअघि बोलेका धेरै कुरा व्यर्थ भए, अब के हुन्छ भन्नेमा धैर्यतापूर्वक कुर्नुको विकल्प छैन ।’

मन्त्रालयका अर्का अधिकारी सरकारको प्राथमिकतामा कोरोना नियन्त्रण नभएकाले गर्नैपर्ने काम पनि गर्न नसकेको बताउँछन् । ‘समय हुञ्जेल परीक्षणका लागि ढिला गरियो, अब नियन्त्रण बाहिर जाला जस्तो छ’ उनी भन्छन् ।

संक्रमित बढे के गर्ने ? सरकार भन्छ– ट्रयाकमै छौं

कोरोना सुरुवाती चरणमा प्रवेश गर्दा २ हजार संक्रमित पुग्ने आकलन गरेर मन्त्रालयले त्यहीअनुरुप तयारी गरेको थियो । २ हजारभन्दा बढी संक्रमित भेटिए होम आइसोलेसन गर्ने अवधारणा ल्याइएको थियो । अहिले कुल संक्रमितको संख्या १९ हजार नाघेको छ, जसमध्ये १३ हजार ८७५ जना निको भएका छन् । आइसोलेसनमा १५ हजार भन्दा बढी छन् ।

दुई हजार बिरामीको आकलन गरेर तयार गरेको पूर्वतयारीले कसरी धान्ला ? भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम भन्छन्, धान्छ, अवश्य धान्छ । सबै तथ्यांक विश्लेषण गरेर तयारी भइरहेको छ ।’

प्रवक्ता डा. गौतमले भनेजस्तै पर्याप्त पूर्वाधार छ त ? स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालमा गरी कुल बेड संख्या २६ हजार ९३० छ, त्यसमा तीन हजार ७६ आइसोलेसन बेड छन् । १५९५ आईसीयू र ८४० भेन्टिलेटर छन् ।

‘भेण्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी अत्यन्तै कम छन्, त्यसैले अहिलेको आवश्यकता भेण्टिलेटर होइन’ गौतम भन्छन्, ‘लक्षणविहीन सामान्य संक्रमितलाई जसरी पनि व्यवस्थापन गर्छौं ।’

जनस्वास्थ्य विज्ञहरुले भने समुदायस्तरमा संक्रमणको संकेत देखिन थालेको तर, सरकारले परीक्षणको दायरा नबढाएको बताउँछन् । स्वास्थ्य मन्त्रालयले पनि गत असार १५ गतेदेखि दैनिक १० हजार परीक्षण गर्ने लक्ष्य लिएको थियो । गत साता मात्र ७ वटा अटोमेटेड पीसीआर मेसिन पनि ल्याएको छ । तर देशभरका प्रयोगशालामा दैनिक पीसीआर टेष्ट ४ देखि ५ हजार हाराहारी मात्र छ ।

मन्त्रालयका एक अधिकारीले भने कोरोना परीक्षण कार्यविधि (टेस्टिङ प्रोटोकल) का कारण परीक्षणको सङ्ख्या नबढेको बताए । असार १३ गते इनफ इज इनफ अभियानका अनसनकारीसँग प्रोटोकल परिर्वतन गर्ने सहमति गरे पनि सहमति पालना भएको छैन ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालसमेत परीक्षण बढाउने गरी प्रोटोकल परिवर्तन गर्ने पक्षमा नदेखिएको स्रोतको दाबी छ । मन्त्रालयको आन्तरिक बैठकमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल टेस्टिङ गाइडलाइन परिवर्तन नगर्ने भए किन सत्याग्रहीहरुसँग सम्झौता गरेको भनेर प्रश्न उठाएका थिए । जवाफमा सचिव अर्यालले सरकारको अर्थतन्त्रले नभ्याउने बताएका थए ।

प्रमुख विशेषज्ञ डा. पोखरेलले भने ‘कि मैले उठाएको कुरा यो कारणले गलत हो भन्नुपर्‍यो, होइन भने स्वास्थ्यको सचिव भएर अर्थको मात्रै कुरा गर्ने ? भनेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम भने छलफललाई विवाद भन्न नहुने बताउँछन् । ‘स्वाब नभएका कारण परीक्षण कम भएको हो’ प्रवक्ता गौतम भन्छन्, ‘स्वाब भएको बेला त दैनिक ८ हजार पनि टेस्ट गरेकै हो नि ।’

साथै भयावह अवस्था आउन नदिन काम मन्त्रालयले काम गरिरहेको समेत उनको दाबी छ । उनका अनुसार धेरै संक्रमित भेटिएका स्थानहरुमा समुदाय स्तरमा परीक्षण थालिएको छ भने काठमाडौं उपत्यका आउनेहरुको पनि स्वाब संकलन भइरहेको छ । ‘यसले हाम्रो वास्तविक अवस्थाको पूर्वअनुमान हुन्छ’ गौतम भन्छन्, ‘हामी सही ट्रयाकमा छौं, कोरोना हाम्रो नियन्त्रण बाहिर गइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment