१४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका उनीहरुले बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग सपथ लिएका हुन् ।
सपथअघि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दुवै जनालाई नियुक्ति पत्र प्रदान गरेका थिए ।
सिलवाल दाेस्रो पटक राखेपको सदस्य सचिव नियुक्त भएका हुन् । २०७६ साल असार २३ गते पहिलो पटक राखेपको सदस्य सचिव बनेका सिलवाल नयाँ ऐन कार्यान्वयनमा आएपछि असार १७ गते पदमुक्त भएका थिए । अहिले नयाँ खेलकुद ऐनअनुसार ४ वर्षका लागि नियुक्त भएका हुन् ।
यस्तै नेपाल तेक्वान्दो युनियनका अध्यक्ष तथा नेपाल खेलकुद महासंघको सहसंयोजक रहेका शिव कोइराला राखेपको उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । उनी १३औं सागमा प्रचार प्रसार समितिका संयोजक थिए ।
बाँकी काम पूरा गर्छु : सिलवाल
सपथ लिएपछि सदस्य सचिव सिलवालले अबकाे ४ वर्षमा आफूले विगतमा गर्न बाँकी रहेकाे कामलाई पूर्णता दिने बताए । खेलकुदलाई ठीक दिशामा लैजान इमानदार र कर्तव्यनिष्ठ भएर भूमिका निर्वाह गर्ने पनि उनले प्रतिवद्धता जनाए ।
खेलकुदलाई जीवनकाे अंग बनाउने, खेलकुदको माहाेल बनाउने, खेलकुदलाई प्राथमिकता प्राप्त क्षेत्रकाे रुपमा पहिचान गर्ने, सुशासन र पारदर्शिता कायम गर्ने सिलवालले बताए ।
प्रतिक्रिया 4