+
+
Shares

अपडेट : कालीकोटको पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो

रास्कोटमा बेपत्ता भएका ५ जना अझै भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते २२:३२

१४ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत सबै ९ जनाको मृत्यु भएको छ ।

मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकोमा बुधबार दिउँसो सबैको शव फेला परेको हो ।

वडानम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र साढे एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा स्वास्थ्य केन्द्र कुमालगाउँमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

गंगेको परिवारका ४ जना भने राति नै झ्यालबाट हाम फालेर बाँच्न सफल भएका छन् । डीएसपी ओलियाका अनुसार २५ वर्षीय छोरा पदम, ३७ वर्षीय छोरा जयरुप, उनकी श्रीमती ३० वर्षीय सरिता र छोरा विमल बाँच्न सफल भएका हुन् ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा पहिरोले घर पुरिँदा ६५ वर्षीय बाले बुढा र उनकी श्रीमती ६५ वर्षीया मनाको मृत्यु भएको डीएसपी ओलियाले बताए ।

पहिरोमा परी मृत्यु भएका उनीहरु सबैको सनाखत भएपछि पोस्टमार्टम गरी बुधबार नै शव परिवारलाई बुझाइएको डीएसपी ओलियाले जानकारी दिए ।

रास्कोटमा बेपत्ता भएका ५ जना अझै भेटिएनन्

गत सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढीले बगाएर बेपत्ता भएका पाँचजना अझै भेटिएका छैनन् ।

नगरपालिकाको वडानम्बर १ को बडलतोलामा गंगे खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका थिए ।

बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेका छन् ।

सोही वडाको चोक्टेबगरमा पहिरोमा पुरिएर बेपत्ता भएकी एकजना बालिकाको भने शव भेटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?