Comments Add Comment

कर्णालीमा आठ दिनमा १६६ संक्रमित, लक्षणसहितका बिरामी बढे

दैलेखको ठाटीकाँधमा निषेधाज्ञा, समुदायस्तरमै भेटिन थाले संक्रमित

१४ साउन, सुर्खेत । लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या बढेको छ । यस प्रदेशमा असार अन्तिमदेखि साउन पहिलो सातासम्म घट्दै गएको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ ।

जेठ ५ गते पहिलोपटक संक्रमण पुष्टि भएको कर्णालीमा पहिलो महिना ९५७ जनामा संक्रमण देखिएको थियो ।

असारमा ७५७ जनामा संक्रमण भेटिएको थियो । तर, साउन पहिलो सातादेखि दिनप्रतिदिन संक्रमित थपिन थालेका छन् । साउन ६ गतेदेखि १४ गतेसम्म आठ दिनमै १६६ जनामा संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबारसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ९१५ पुगेको छ । आइसोलेसनमा २२७ जना छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।

संक्रमितहरु आइसोलेसनबाट डिस्चार्ज हुनेहरुको संख्या पनि उल्लेख्य छ । बुधबारसम्म आइसोलेसनबाट घर फर्किनेको संख्या १ हजार ६८२ पुगेको छ ।

समुदायस्तरमै भेटिन थाले संक्रमित

प्रदेशमा संक्रमणको सुरुवाती चरणमा भारतबाट आउनेहरूको संख्या धेरै भएका कारण उनीहरूमा मात्रै संक्रमण देखिने गरेको थियो । तर, पछिल्लो समय भेटिने भेटिने संक्रमितहरु अधिकांश समुदायस्तरका भएको महाशाखाको ठहर छ ।

समुदायमा गएर नखोज्दै धेरै स्थानीय संक्रमित भेटिनु खतराको संकेत भएको चिकित्सकहरू बताउँछन् । ‘हालसम्म समुदायमा संक्रमण पुष्टि भएकाहरूको न लामो ‘ट्राभल हिस्ट्री’ देखिन्छ, न संक्रमितसँग सम्पर्कमा आएको रेकर्ड नै भेटिएको छ’, प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अनलाइनखबरसँग भने, ‘कतिपयको हकमा भने संक्रमितहरूको प्रत्यक्ष सम्पर्कमा आएका सबैको परीक्षण गर्दा पनि संक्रमण पुष्टि हुने गरेको छैन ।’

दैलेखको ठाटीकाँधमा निषेधाज्ञा

दैलेखको ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले गत बिहीबार सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस फैलिन नदिन निषेधाज्ञा जारी गरेको हो ।

ठाटीकाँधका टेस्टिङ गाइडलाइनमा नपरेका ७३ जनाको पीसीआर परीक्षण गर्दा १६ मा संक्रमण पुष्टि भएको थियो । टेस्टिङ गाइडलाइनमै नपरेका स्थानीयमा समेत कोरोना पुष्टि भएपछि समुदायमा फैलिन सक्ने जोखिमलाई कम गर्न निषेधाज्ञा जारी भएको दैलेख प्रशसनले जनाएको छ ।

लक्षणसहितका संक्रमित बढे

कर्णालीको सबैभन्दा बढी संक्रमित देखिएको दैलेखमा पछिल्लो समय लक्षणसहितका संक्रमितहरु फेला पर्न थालेका छन् । दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार पछिल्लो समय दैलेखमा रुघाखोकी र ज्वरोसहितका संक्रमितहरु देखा पर्न थालेका हुन् ।

लकडाउन खुलेसँगै दैलेखमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । अब झन अवस्था भयावह हुन सक्ने अनुमान गरिएको रेग्मीले बताए । बढ्दो संक्रमणको मुख्य कारण मानिसहरूले स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउनुलाई मानिएको छ ।

दैलेखको नारायण नगरपालिका, आठविस नगरपालिका र महाबु गाउँपालिकामा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट आउने ९५ प्रतिशतमा संक्रमण देखिने गरेको रेग्मीले बताए ।

लकडाउन खुलेसँगै मानिसहरूले कोरोना संक्रमण हुन सक्छ र त्यसका लागि जुनसुकै स्थानमा सावधानी अपनाउनुपर्छ भन्ने नै बिर्सन थालेका छन् । मानिसहरूले बेवास्ता गरेका कारण संक्रमण बढ्ने खतरा रहेको कर्णाली प्रदेश अस्पताल डा. नवराज केसीले बताए ।

हालसम्म ‘कन्ट्रयाक ट्रेसिङ’का आधारमा न्यून मात्र परीक्षण भएकाले समुदायमा कुन दरमा संक्रमण फैलिएको छ भन्नेबारे यकिन गर्न नसकिने उनको भनाइ छ ।

केसीका अनुसार अधिकांश संक्रमितहरू आफैं टेष्टका लागि पुग्ने गरेका छन् । केही केसहरू मात्रै स्थानीय कन्ट्रयाक ट्रेसिङबाट भेटिएका हुन् ।

यो पनि पढ्नुहोस गण्डकीमा कोरोना संक्रमण बढेको बढ्यै, १०३ जनाको स्रोत खुलेन यो पनि पढ्नुहोस तथ्याकंले भन्छ – जोखिम टरेको होइन, झन् बढेको छ यो पनि पढ्नुहोस प्रदेश ५ मा कोरोना संक्रमणको ‘सेकेण्ड वेभ’ को डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment