Comments Add Comment

समुदायमा फैलियो कोरोना, प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोन’मा परे

बढेन परीक्षणको दायरा, प्रदेश सरकार भन्छ– रातारात गर्न सकिँदैन

१५ साउन, बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ मा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको लक्षण देखिएको हो ।

शुक्रबार प्रदेशसभाको बर्खे अधिवेशनको अन्त्यमा मुख्यमन्त्री शेरधन राईले तीन महिनासम्म क्वारेन्टाइनमा रोकिएको कोरोना समुदायस्तरमा पुगेको बताए ।

बिराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेका छन् ।

पछिल्लो एक सातामा बिराटनगरमा संक्रमण पुष्टि भएको तथ्याङले संक्रमण समुदायस्तरमा पुगेको देखाउँछ । ७ साउनदेखि १४ साउनसम्म बिराटनगरमा ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये आधाभन्दा बढी ट्राभल हिस्ट्री नभएकाहरु छन् ।

संक्रमितमध्ये २४ जना प्रहरी सुरक्षाकर्मी र ९ जना स्वास्थ्यकर्मी छन् भने अन्य सर्वसाधारण छन् ।

बुधबारसम्म प्रदेश १ मा ९७५ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । उनका अनुसार प्रदेश  १ मा ४१ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १  सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिममा भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई राखेको छ

बढेन परीक्षणको दायरा

संक्रमण फैलिएपछि बिराटनगर महानगरपालिकाले परीक्षणको दायरा बढाउने बताए पनि बढाउन सकेको छैन । समुदायस्तरमा नमुना संकलन गरेर परीक्षण गर्नुपर्ने भए पनि महानगरपालिकाले दायरा बढाउन नसकेको हो । संकलन गरेको स्वाब परीक्षण गर्ने क्षमता पनि कम भएका कारण तत्काल दायरा बढ्न नसक्ने महानगरपालिकाका अधिकारीहरु बताउँछन् ।

‘हाम्रो योजना परीक्षणको दायरा बढाउने हो,’ बिराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की भन्छन् ‘तर परीक्षण गर्ने क्षमता प्रदेशसँग सीमित छ ।’

महानगरले पछिल्लो केही दिनयता दैनिक सरदर एक सय जनाका दरले  स्वाब संकलन गरेर परीक्षण गरिरहेको छ । मंगलबारसम्म २ हजार ३०८ जनाको स्वाब संकलन गरेको छ । तीमध्ये बुधबारसम्म ८७ जनामा पोजेटिभ देखिएको छ । संक्रमित मध्ये ६० जना गत बुधबारयता संक्रमण पुष्टि भएकाहरु हुन् ।

करिब ४ लाख जनसंख्या रहेको विराटनगरमा दैनिक दुईसय जनाको स्वाब संकलन गरेर परीक्षण गर्न आवश्यक रहेको महाशाखा प्रमुख कार्की बताउँछन् । तर, सीमित स्रोत साधनले थोरै मात्रामा संकलन भएको स्वाबको परीक्षण रिपोर्ट आउन पनि समय लाग्ने गरेको छ ।

संक्रमण फैलँदै गए प्रत्येक घरका एकजना सदस्यको परीक्षण गरिनुपर्ने उनले बताए ।

रिस्क जोनमा २० वटा स्थानीय तह

प्रदेश १  सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिममा २० वटा स्थानीय तहलाई राखेको छ । भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई ‘रिस्क जोन’ (जोखिमयुक्त क्षेत्र) मा राखेको हो ।

भारतमा संक्रमण दर उच्च छ । खुला सीमा भएका कारण संक्रमण फैलनसक्ने जोखिम रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । उनका अनुसार मोरङका ६, सुनसरीका ५,  झापाको ५ र इलामका चारवटा स्थानीय तह जोखिममा छन् ।

प्रदेश सरकारले मोरङको बिराटनगर महानगरपालिका, जहदा र धनपालथान गाउँपालिकालाई उच्च जोखिममा राखेको छ । त्यस्तै भारतसँग सीमा जोडिएका रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका जोखिममा छन् ।

सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु जोखिममा छन् ।

झापाको मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिका  जोखिममा छन् ।

त्यस्तै  इलामको रोङ, सूर्याेदय माइजोगमाई र सन्दकपुर जोखिमको सूचीमा छन् ।

धेरै भारतबाट आएका संक्रमित

प्रवक्ता  मेहताका अनुसार प्रदेश १ मा भारतबाट स्वदेश फर्किएकाहरुमा बढी कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ६८ प्रतिशत भारतबाट आएकाहरु हुन् । तेस्रो देशबाट आएकाहरुको संख्या  १८ प्रतिशत छ भने नेपालमै संक्रमण भएका  १४ प्रतिशत छन् । संक्रमण देखिएकामध्ये १३ प्रतिशतमा मात्र लक्षण देखिएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या बढेसँगै परीक्षणको दायरा बढाइने भएको छ । थप दुईवटा पीसीआर मेसिनसहित ४ वटा प्रयोगशाला सञ्चालन गरिने भएको छ ।

प्रदेश सरकार भन्छ– रातारात गर्न सकिँदैन

एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउने गृहकार्य भइरहेको बताए । प्रदेश सरकारको क्षमता अनुसार नियन्त्रणमा काम गरिरहेको बताउँदै उनले दायरा बढाउनका लागि दुईवटा मेसिन थप गरिएको बताए ।

संक्रमण रोक्नका लागि स्वाब संकलन र परीक्षणको दायर बढाउनका लागि दुईवटा मेसिन थप गर्ने काम जारी रहेको उनले बताए । ‘रातारात गर्न सकिँदैन,’ उनले भने ‘क्षमता अनुसार गरिरहेका छौं ।’

यो पनि पढ्नुहोस प्रदेश २ मा फेरि लकडाउनको माग, कोरोना संक्रमितमध्ये २० प्रतिशतमा लक्षण देखिन थाल्यो यो पनि पढ्नुहोस पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि यो पनि पढ्नुहोस कोरोनाले बजायो खतराको घण्टी, घरदैलोसम्म आइपुग्यो ! यो पनि पढ्नुहोस प्रदेश ५ मा कोरोना संक्रमणको ‘सेकेण्ड वेभ’ को डर यो पनि पढ्नुहोस कर्णालीमा आठ दिनमा १६६ संक्रमित, लक्षणसहितका बिरामी बढे यो पनि पढ्नुहोस राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment