१५ साउन काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । भदौ १ गतेदेखि सरकारले खेलकुद प्रशिक्षणका लागि अनुमति दिएपछि अब खेलाडीहरुको प्रशिक्षण सुरु गर्न पहिला पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।
त्यसैअनुसार क्यानले पनि पहिलो चरणमा खेलाडीको पीसीबर परीक्षण गर्न लागेको हो ।
त्यसका लागि क्यानले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्दैछ । त्यसका लागि क्यानका कोषाध्यक्ष रोशन सिंहसँगै केन्द्रीय सदस्य दुर्गाराज पाठक र छुम्बी लामा बिहीबार मन्त्रालय पुगेका थिए ।
स्रोतका अनुसार यही साउन २८ गते खेलाडीलगायत सपोर्ट स्टाफ र टीयू ग्राउण्ड स्टाफ सबैको परीक्षण गर्ने तयारी भइरहेको छ । ‘सबै गरेर करिब ४० जना जतिको पीसीआर परीक्षणका लागि पत्र लेखेर पठाएका छौँ ,’ क्यानले स्रोतले भन्यो ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले बुधबार अनलाइनखबरसँगको कुराकानीमा आफूहरु पनि भदौ १ गतेदेखि खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको बताएका थिए ।
प्याकुरेलले छुट्टै होटलमा राख्न सम्भव नभए पनि पीसीआर परीक्षण गर्नेलगायत सबै नियम पालना गरेर इन्डोरमा प्रशिक्षण सुरु गराउने बताएका थिए ।
विश्वभर महामारी बनेर फैलिएको कोरोनाभाइरसका कारण नेपालले खेल्ने ३ आईसीसी विश्वकप लिग २ सिरिज स्थगित भएको छ । साथै खेलाडीहरुले पनि प्रशिक्षण गर्न पाएका छैनन् । केही खेलाडीले भने टीयू मैदानको इन्डोर हलमा व्यक्तिगत रुपमै भए पनि प्रशिक्षण सुरु गरेका छन् ।
आईसीसीले विश्वकप लिग २ को ट्राई सिरिज सेप्टेम्बरमा गर्न सकिन्छ वा सकिँदैन भनेर त्यसमा सहभागि हुने देशहरुसँग पनि छलफल अघि बढाएको छ ।
प्रतिक्रिया 4