
१५ साउन, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा गरीब र विपन्न परिवारका लागि निःशुल्क वितरण गर्नुपर्ने सोलार बत्तीमा अनियमितता भएको पाइएको छ ।
बिजुली बत्तीवको पहुँच नभएका गरीब परिवालाई अनुदानमा निःशुल्क उपलब्ध गराइएका सोलार बत्ती जनप्रतिनिधि र कर्मचारीले आफ्नो घरमा जडान गरेको पाइएको हो ।
कञ्चन गाउँपालिका वडा नं १ वडा सदस्यहरु गोमा कार्की, जुना परियार, डिलाराम थापा र कर्मचारी इन्दिरा पौडेल र जानकी गैरेले गरीब तथा विपन्न परिवारको लागि आएको सोलार बत्ती आफ्नो घरमा जडान गरेका हुन् ।
वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रमार्फत कञ्चन गाउँपालिकाले ३१५ विपन्न तथा गरीबका घरमा सोलार बत्ती जडान गरेको थियो ।
वडाध्यक्ष हरिनारायण चौधरीले भुलचुकले गल्ती भएको स्वीकार गर्दै तत्काल जनप्रतिनिधि र कर्मचारीको घरबाट निकालेर लक्षित वर्गको घरमा जडान गरिने बताए ।
कारबाही गर्न कांग्रेसको माग
सोलार बत्ती वितरणमा अनियमितता पाइएपछि नेपाली कांग्रेस कञ्चन गाउँपालिका वडा नं. १ ले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ । कांग्रेस वडा सभापति दुर्गाबहादुर भुजलले विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका हुन् ।
प्रतिक्रिया 4