Comments Add Comment

स्वीकृति पाएका ल्याबले आफैं स्वाब संकलन गरेर कोरोना परीक्षण गर्न पाउने

फाइल तस्वीर

१५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणको लागि स्वीकृति पाएका सबै निजी ल्याबहरु आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न दिने निर्णय गरेको छ। बुधबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयको प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

‘सरकारले संकलन गरेको स्वाबले सरकारकै ल्याबलाई ठिक्क भएकाले यस्तो निर्णय गरिएको हो,’ प्रवक्ता गौतमले भने, ‘अब टेस्टिङ प्रोटोकलमा परेका बाहेक अरुको स्वाब संकलन गरेर ति ल्याबले परीक्षण गर्न सक्नेछन्।’

सरकारले निजी ल्याबमा पनि कोरोना परीक्षण गर्न दिने निर्णय गरेर ८ असारमा निर्देशिका ल्याएको थियो, जसमा आफैं नमुना संकलन गरेर परीक्षण गर्न नपाइने उल्लेख थियो । उक्त निर्देशिकाको मापदण्ड नम्बर ७ मा ‘निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएको नमुनालाई मात्र परीक्षण गर्नेछ ’ भनिएको थियो।

तर, स्वास्थ्य मन्त्रालयले सानेपास्थित स्टार अस्पताल, सिनामंगलस्थित केएमसी अस्पताल र चक्रपथस्थित ह्याम्स अस्पताललाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्न अनुमती दिएको थियो।

तीनै वटा अस्पताललाई त्यहाँ आएका बिरामीका साथै विदेश जाँदा कोरोना परीक्षणको रिपोर्ट चाहिने व्यक्तिहरु र विदेशी नियोगमा कार्यरत कर्मचारीको परीक्षण गर्न अनुमति दिएपछि स्वीकृति पाएका अन्य ल्याबले विरोध गरेका थिए। किनकि, ति ल्याबले आफैं स्वाब संकलन गर्ने स्वीकृति पाएका थिएनन भने स्वास्थ्य मन्त्रालयले पनि स्वाब दिएको थियो।

यी तीन अस्पताल बाहेक नयाँ बानेश्वरको सेन्ट्रल डाइग्नोस्टिक ल्याव (सीडीएल), लाजिम्पाटको सूर्या हेल्थ केयर, बुटवलको नेशनल प्याथ ल्याब र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । मन्त्रालयको यो निर्णयसंगै यी ल्याबहरुले पनि स्वाब संकलन गर्न पाउनेछन्।

सरकारले निजी ल्याबहरुले ५५ सय शुल्क लिएर कोरोना परीक्षण गर्नुपर्ने मापदण्ड बनाएको छ। हिजो बुधबार परीक्षणको स्वीकृति पाएको विध म्यानेजमेण्ट प्रालीले सरकारले तोकेको भन्दा १ हजार सस्तोमा परीक्षण गराउने भनेको छ। स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण शुल्कमा पुनर्विचार गरिरहेको प्रवक्ता गौतमले बताए। ‘हामीले पहिले शुल्क निर्धारण गर्दा किटहरु महँगो थियो, त्यही अनुसार शुल्क निर्धारण गरेका थियौं,’ प्रवक्ता गौतमले भने, ‘अहिले किट सस्तिएको छ, हामी अध्यन गरेर शुल्क फेरि निर्धारण गर्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment