Comments Add Comment

सप्तरीका एउटै वडामा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या पाँच सय नाध्यो

१८ साउन, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सो वडामा ४ वर्षीय बालकदेखि ७१ वर्षका वृद्वमा आइतबार एकैदिन संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा ४ वर्षका दुई जना बालक, १५ वर्षीया एक किशोरी, ५५ वर्षीया एक महिला, ३५ वर्षीय तीन जना पुरुष तथा २६ , २२ र ४२ वर्षीय दुई/दुई जना पुरुष छन् । यस्तै ४७, ४०, २०, ४५, ३८, ३६, ३१, २४, ३८, ७१, ६० र एक जना उमेर नखुलेका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

आइतबार सप्तरीमा २७ जना नयाँ संक्रमित फेला परेकोमा २५ जना तिलाठी कोइलाडी गाउँपालिका-२ का थिए । अन्य दुई जना भने राजविराजका ४० र २८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

आइतबार २७ जनामा संक्रमण पुष्टि भएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि पुगेको छ । सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय २४ पुगेको छ ।

संक्रमित अधिकांश भारत आवतजावत गर्ने

लौनियाँका २५ जना संक्रमित मध्ये अधिकांश नेपाल-भारत आवतजावत गर्ने गरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

उनका अनुसार लौनियाँ नजिकै भारतको कुनौली बजार रहेको र उनीहरु बारम्बार कुनौली गएर सरसामान लिएर आएको पाइएको छ । केही संक्रमित भने एकसाता अघि विष सेवनपछि संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति भएको यादवले बताए । सीमा नाकामा कडाई नगरिए ठूलो समस्या आउन सक्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment