Comments Add Comment

के दिनेशविना नम्रताले ‘प्रसाद २’मा काम गर्लिन् ?

नायिका नम्रता श्रेष्ठले पछिल्ला केही बर्षयता काम गरेका चलचित्रलाई हेर्ने हो भने, अधिकांश चलचित्रका निर्देशक दिनेश राउत छन् । नम्रताले गतबर्ष अभिनय गरेको चलचित्र ‘जाइरा’लाई छाड्ने हो भने ‘नोभेम्बर रेन, क्लासिक, पर्व, प्रसाद’लाई दिनेशले नै निर्देशन गरेका हुन् । चलचित्र क्षेत्रमा दिनेश र नम्रताको मित्रता सधै चर्चामा रहन्छ । यी दुबैले एक अर्कासँग सहकार्य गर्दा सहज हुने पनि बताउँछन् ।

नायिका नम्रता श्रेष्ठलाई चलचित्र ‘प्रसाद’बाट धेरै फाइदा भयो, जसको निर्देशन दिनेश राउतले गरेका थिए । तर, अब यसका निर्माता सुभाष थापाले ‘प्रसाद २’ निर्माणको तयारी थालेका छन्, जसको निर्देशन सौरभ चौधरीले गर्दैछन् । चलचित्र ‘प्रसाद’मा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका थियो ।

चलचित्र ‘प्रसाद २’ पनि यी कलाकारविना बन्न नसक्ने निर्माताको तर्क छ । किनकी, यसलाई ‘प्रसाद’को प्रिक्वेलको रुपमा बनाउने तयारी गरिएको छ ।

चलचित्रका लागि कलाकारहरुले पारिश्रमिक महंगो डिमाण्ड गरेको चर्चा छ । निर्माताले पनि कलाकारले पारिश्रमिक बढाउने कुरा गरेको बताइसकेका छन् । अर्कोतिर, नम्रताले दिनेश राउतविना काम गर्न सहज नमान्ने पनि निश्चित छ । झन्, दिनेशले नै निर्देशन गरेको चलचित्रको प्रिक्वेल बन्न लागेकाले पनि निर्देशनमा दिनेशको विकल्प खोज्न नम्रतालाई सहज नहुने पक्का छ । यस्तो अवस्थामा के नम्रताले आफ्ना प्रिय निर्देशकविना ‘प्रसाद २’मा काम गर्लिन् त ? धेरैको ध्यान अहिले यता सोझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment