१९ साउन काठमाडौं । दुई वर्षअघि आजैको दिन नेपाली क्रिकेटले नयाँ कोसेढुङ्गा पार गरेको थियो ।
नेपालले २०१८ अगष्ट १ मा नेदरल्याण्ड्सविरुद्ध पहिलो ओडीआई (एक दिवसीय) क्रिकेट सिरिज खेल्यो । पहिलो खेलमा पराजित भएको नेपाल अगष्ट ३ अर्थात् दुई वर्षअघि आजकै दिन भएको दोस्रो खेलमा विजयी भयो ।
त्यो जित नै नेपालको लागि ओडीआईमा पहिलो जित थियो । यो भन्दा अझै रोमाञ्चक र सम्झनलायक क्षण भयो १ रनको जित । नेपालले नेदरल्याण्ड्सलाई उसैको मैदानमा १ रनको झिनो अन्तरले पराजित गरेको थियो ।
कतिपय जित यस्तो अवस्थामा हात लाग्छ कि त्यसमा रोमाञ्चकता, नाटक, इमोसन सबै जोडिएको हुन्छ । त्यो सबै क्षणलाई पार गर्दै नेपालले खेल आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्था रोमाञ्चकता केही नाटकीय मोड अनि नेपालको जित ।
यो खेलमा सम्झनै पर्ने नाम हो तत्कालिन कप्तान पारस खड्का । पारसले त्यस खेलमा अर्धशतक प्रहार गरेका थिए । बलिङमा पनि उनले अन्तिम ओभर आफै बलिङ गर्दै जम्मा ६ रन डिफेण्ड गरेर नेपाललाई ऐतिहासिक जित दिलाएका थिए ।
सिरिजको पहिलो खेलमा नेपालको ब्याटिङ नचल्दा नेपाल ५५ रनले पराजित भइसकेको थियो । सिरिज जोगाउन र जितिविहीन हुनबाट बच्न नेपालले दोस्रो खेल जित्नैपर्ने अवस्था थियो । नेदरल्याण्ड्सको आम्टलभिनस्थित भीआरए ग्राउण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो ।
कप्तान पारस खड्का अनि आठौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले अर्धशतक प्रहार गरेपछि नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।
जवाफमा नेपालले नेदरल्याण्ड्सलाई ५० ओभरमा २१५ रनमा अलआउट गर्यो र १ रनको रोमाञ्चक जित हात पार्यो ।
यसरी जित्यो नेपालले
उक्त खेलमा अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि ६ रन चाहिएको थियो । टिम २११-९ को अवस्थामा थियो । नेपाललाई भने खेल जित्न १ विकेट चाहिएको थियो । क्रिजमा थिए फ्रेड क्लासेन र पउल भान मिकेरेन । क्लासेन १० र मिकेरेन ११ रन बनाएर खेलिरहेका थिए । उनीहरु जसरी पनि ६ रन बनाउन चाहन्थे नेपाल भने १ विकेट झार्न ।
त्यतिखेर नेपालका मुख्य तीन बलर सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीको स्पेश सकिएको थियो । डेब्युटान्ट बलर ललितसिंह भरीले ४८ औं ओभर बलिङ गरेका थिए र उनको स्पेल बाँकी नै थियो ।
४९औं ओभर दीपेन्द्र सिंह ऐरीले बलिङ गरेका थिए । अब कप्तान पारससामु कि ललितलाई बल थमाउने कि आफैं बलिङ गर्ने अप्सन थियो । यस्तोमा कप्तान पारसले आफैं बलिङ गर्ने निर्णय लिए ।
५० औँ ओभरको पहिलो बलमा पारसले क्लासेनलाई १ रन दिए । पारसको दोस्रो बलमा मिकेरेनले कुनै रन जोड्न सकेनन् । तेस्रो बलमा मिकेरेनले १ रन जोडेपछि नेदरल्याण्ड्सलाई ३ बलमा ४ रन आवश्यक भयो । रन बनाउँदा डच खेलाडी खुशी हुन्थे भने डट बल फाल्दा नेपाली ।
चौथो बलमा क्लासेनले २ रन जोड्दा नेदरल्याण्डलाई अन्तिम २ बलमा २ रन चाहिएको थियो । त्यस्तो अवस्थामा पनि कप्तान पारसले संयमित भएर बलिङ गरे ।
पाँचौ बलमा पारसले क्लासेनलाई रन दिएनन् । अब अन्तिम बलमा नेदरल्याण्सका लागि खेल जित्न २ रन चाहिएको थियो भने १ रनले पनि खेल बराबरी हुने थियो। तर, पारसले अन्तिम बलमा पनि कुनै रन दिएनन् भने स्ट्राइकमा रहेका क्लासेनलाई नन- स्ट्राइक एण्डमा रनआउट गरे ।
डच टोली घरेलु मैदानमा ५० ओभर खेलेपछि २१५ रनमा अलआउट भयो । खेल नेपालले १ रनले जित्यो । त्यसपछि कप्तान पारस दौडेर अरु खेलाडीसामु पुग्दै खुशीयाली मनाए । नेपाली क्रिकेटको लागि यो एकदमै खुशीको क्षण थियो ।
खेलको पूरा स्कोरकार्ड यहाँ छ ।
सिरिज बराबर
पहिलो खेल गुमाए पनि नेपालले दोस्रो खेल जित्दै पहिलो सिरिज १-१ को बराबरीमा टुङ्गायो । नेपाली क्रिकेटमा यो अर्को स्टेपको शुरुवात पनि थियो । ओडीआईमा नेपालको पहिलो जितपछि आगामी ४ वर्षे ओडीआई यात्रामा नेपालको सुखद सुरुवात भएको थियो ।
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि ओडीआई मान्यता पायो भने त्यसको साढे ४ महिनापछि नेपालले पहिलो ओडीआई सिरिज खेलेको हो ।
त्यो सिरिजपछि नेपालले अहिलेसम्म दुई वर्ष र ४ महिनामा थप ८ खेल खेलेको छ । जसमा नेपालले ४ खेल जित्दा ४ खेलमा हार ब्यहोरेको छ । पहिलो सिरिजपछि नेपालले एसिया कप क्वालिफायरमा युएईविरुद्ध खेलेको खेलले ओडीआई मान्यता पाएको थियो । यस्तै त्यसपछि नेपालले युएईमा गएर ३ खेलको ओडीआई सिरिज खेल्यो । यसबाहेक नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा अमेरिका र ओमानसहितको ट्राई सिरिज खेलेको थियो । करिब २८ महिनाको अवधीमा नेपालले अहिलेसम्म जम्मा ३ सिरिज र १० खेल मात्र खेलेको छ ।
१० ओडीआईमा नेपालको नतिजा
नेपाल टुर इन नेदरल्याण्ड्स २०१८ अगष्ट
पहिलो खेल
नेदरल्याण्ड्स १८९/१० (४७.४ ओभर)
नेपाल १३४/१० (४१.५ ओभर)
ज्ञानेन्द्र मल्ल ५१ रन पारस खड्का ४ विकेट
दोस्रो खेल
नेपाल २१६/१० (४८.५ ओभर)
नेदरल्याण्ड्स २१५/१० (५० ओभर)
सोमपाल कामी ६१ पारस खड्का ५१
एसिया कप छनोट अगष्ट
युएई २५४/९ (५० ओभर)
नेपाल १७६/१० (४८.५ ओभर)
सन्दीप लामिछाने ४ विकेट
सुवास खकुरेल ५० रन
नेपाल टुर इन युएई २०१९ जनवरी
पहिलो खेल
नेपाल ११३/१० (३३.५ओभर)
युएई ११६/७ (३२.१ ओभर)
दोस्रो खेल
नेपाल २४२/९ (५० ओभर)
युएई ९७/१० (१९.३ ओभर)
रोहित कुमार पौडेल ५५ रन
सोमपाल कामी ५ विकेट
सन्दीप लामिछाने ४ विकेट
तेस्रो खेल
युएई २५४/६ (५० ओभर)
नेपाल २५५/६ (४४.४ ओभर)
पारस खड्का ११५ रन
आईसीसी क्रिकेट विश्वकप लिग २ ट्राई सिरिज
नेपाल भर्सेस ओमान
ओमान १९७/९ (५० ओभर)
नेपाल १७९/१० (४६.५ ओभर)
शरद भेषावकर ५५ रन
नेपाल भर्सेस अमेरिका
नेपाल १९०/१० (४९.२ ओभर)
कुशल मल्ल ५०, विनोद भण्डारी ५९
अमेरिका १५५/१०, (४४.१ ओभर)
करण केसी ४ विकेट, सुशन भारी ३ विकेट
नेपाल भर्सेस ओमान
नेपाल २४९/८ (५० ओभर)
ज्ञानेन्द्र मल्ल ५६ रन
ओमान २५०/२ (४७.२ ओभर)
अकिब इल्यास १०९ अविजित, जिसन मक्सुद ६८ अविजित,
नेपाल भर्सेस अमेरिका
अमेरिका ३५/१० (१२ ओभर)
जेभियर मार्शल १६, सन्दीप लामिछाने ६ विकेट, सुशन भारी ४ विकेट
नेपाल ३६/२ (५.२ ओभर)
प्रतिक्रिया 4