Comments Add Comment

वीरगञ्जमा कोरोना महामारी, देशको ‘लाइफलाइन’मा प्रभाव

१९ साउन, काठमाडौं । वीरगञ्जबाट रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोमा पुगेर दैनिक ७० देखि १०० वटा ट्यांकरले पेट्रोलियम लिएर आउँछन् ।

तर पछिल्लो समय वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । यसले देशकै लाइफलाइनमा चुनौती थपिँदै गएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मी बताउँछन् ।

अहिले वीरगञ्जबाट सयौं गाडी काठमाडौंलगायत देशभरका शहरमा आइरहेका छन् । त्यसरी आउने गाडीका चालक, सहचालक र यात्रुसँगै कोरोना फैलने जोखिम उच्च छ । भारतको बिहारसँग जोडिएको वीरगञ्जमा महामारी समुदायस्तरमा फैलिन थालेको विज्ञहरुले बताउँछन् ।

वीरगञ्ज महामारीमा जेलिँदाको असर देशको समग्र अर्थतन्त्रमा पर्नसक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । कोरोना फैलिन नदिन व्यवसायिक जगतले वीरगञ्जबाट हुने आयात र ढुवानी कम गर्न थालेको उनले बताए ।

भारतबाट स्थलमार्ग हुँदै नेपाल पस्ने सबभन्दा सहज नाका हो, वीरगञ्ज । त्यसैले यसलाई नेपालको ‘प्रवेशद्वार’ पनि भनिन्छ । वीरगञ्ज सर्वसाधारणको आवतजावतमा मात्र होइन, अन्तर देशीय ब्यापारका हिसावले पनि मुख्य नाका हो । यो सहजताले बीरगञ्जलाई नेपालको प्रमुख औद्योगिक–व्यापारिक शहर बनाएको छ ।

वीरगञ्ज अर्थतन्त्रसँग यसरी जोडिएको छ कि त्यहाँ हुने हरेक घटनाले काठमाडौंलाई तरंगीत पार्नेगरेको छ । भारतीय नाकाबन्दीका बेला अन्य नाकाबाट सहज आयात भइरहँदा पनि वीरगञ्जको अवरोधले अर्थतन्त्रमा पारेको प्रभावले त्यसलाई प्रष्ट गर्छ ।

तथ्यांकमा वीरगञ्ज निर्भरता

वीरगञ्जमा हुने समस्याले देशभरकै आर्थिक गतिविधिमा शिथिलता ल्याउने अर्को अवस्था पनि छ । नेपालमा लकडाउन खुकुलो भएसंगै आर्थिक गतिविधि बढ्न थालेको छ । आयातमा आधारित अर्थतन्त्र भएकाले बजारमा गतिविधि बढेपछि त्यसको चाप वीरगञ्जमा पर्छ । यसलाई तथ्यांकले नै पुष्टि गर्छ ।

नेपालले गर्ने कुल आयातको ४८ प्रतिशत कारोबार वीरगञ्ज नाका भएर हुन्छ । गत आर्थिक वर्ष २०७६/०७७ मा भएका कुल आयातमध्ये ४८.२१ प्रतिशत समान वीरगञ्ज नाका भएरै भित्रिए ।

गत आवमा वीरगञ्ज भन्सार कार्यालयबाट ३४.३७ अर्थात् ४ खर्ब ११ अर्ब बराबरको सामान आयात भएको थियो । त्यस्तै, वीरगञ्जको सुख्खा बन्दरगाहबाट १ खर्ब ६५ अर्ब बराबरको १३.८४ प्रतिशत आयात भयो । गत वर्षको ५ खर्ब ७७ अर्बको आयात ब्यापार वीरगञ्जबाटै भएको थियो ।

नेपालको निर्यात ब्यापारमा पनि वीरगञ्ज नाकाको हिस्सा अरुको भन्दा बढी छ । कुल निर्यातमध्ये ३५.३४ प्रतिशत वस्तु वीरगञ्ज भएरै भारतलगायतका अरु देश पुग्छन् । गत वर्ष वीरगञ्जबाट ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएका थिए ।

लकडाउन खुकुलिएपछि आयात बढ्न थालेको छ । भारतबाट समान बोकेर आउने ट्रकहरुको आवत–जावत बढेको छ । वीरगञ्जबाट काठमाडौं र अन्य शहरहरुमा सामान पुर्‍याउने क्रम पनि बाक्लिन थालेको छ ।

निजी सवारी साधनमा वीरगञ्ज आउजाउ गर्ने, वीरगञ्ज भन्सारमा अड्किएका समान छुटाउन जाने क्रम पनि बढेकै छ । वीरगञ्जमा नेपाल र भारत दुवैतिरका भन्सार एजेन्टहरुको सक्रियता बढेको छ । यी सबै कारणले गर्दा वीरगञ्जमा हुने गतिविधि सीधै अन्य शहरहरुसँग जोडिन पुग्छन् ।

पेट्रोलियम पदार्थ आयातमा वीरगञ्ज नाकाको हिस्सा ५० प्रतिशत भन्दा बढी छ । सबभन्दा धेरै पेट्रोलियम पदार्थ खपत गर्ने काठमाडौंमा वीरगञ्ज भएरै तेल आइपुग्छ । वीरगञ्जसँग सडक सम्पर्क टुटेको एक दुई दिनमै काठमाडौंमा पेट्रोलियमको हाहाकार सुरु भइहाल्छ ।

पेट्रोलियम पदार्थ मात्रै हैन, सवारी साधन तथा पाटपूर्जा, खाद्य पदार्थ, पत्थर कोइला, फलाम, पाइप, सिमेन्ट क्लिंकर, तयारी कपडा, औद्योगिक मेसिनरी र कच्चा पदार्थ पनि वीरगञ्ज नाकाबाटै बढी आयात हुन्छ ।

यसैगरी फुड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटिक सुज), जुस जाम, खुदो, आल्मुनियम छड/डण्डी, जमोठ कपडा, हाते झोलालगायत सामान यहाँबाट बढी निर्यात हुन्छन् ।

कोलकात्ता बन्दरगाह नजिक पर्ने भएकोले काठमाडौं, पोखरा, हेटौंडा, भरतपुरदेखि मध्य तराई र पहाडी क्षेत्रका सहरमा सामान पैठारी गर्नका लागि वीरगञ्ज नाका सहज मानिन्छ । वैदेशिक व्यापारका लागि नेपालले प्रयोग गर्ने समुद्री बन्दरगाह कोलकाता र विशाखापटनम हुन् ।

नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि वीरगञ्ज क्षेत्रकै उत्पादनले ओगटेका छन् । कुल औद्योगिक लगानीको ५० देखि ६० प्रतिशत हिस्सा वीरगञ्ज क्षेत्रले नै समेट्ने स्थानीय उद्योगी– व्यवसायीहरु बताउँछन् ।

वीरगञ्जका उद्योगहरु नेपाली बजारमा सयौं खालका उत्पादन पठाउँछन् । ती सामान बठाउँदा लोड, अनलोड, ढुवानी र वितरणसम्मका विभिन्न प्रक्रियामा मानवीय शक्ति प्रयोग गर्नुपर्ने अवस्थाले वीरगञ्जमा फैलिएको कोरोना संक्रमणको जोखिम देशभर बढेको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई गत साता उनी काठमाडौं आएको बेला नै कोरोना संक्रमण भएको थियो । बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुमा धेरैजसो भारतीय कामदार रहेकाले आफुखुशी सीमा वारपार आवत–जावतको अवस्था पनि छ ।

केही दिनअघि जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कोरोना संक्रमणबाटै निधन हुनु र त्यहाँ कार्यरत अन्य कामदारमा पनि कोरोना भेटिनुले उद्योगहरुमा उत्पादनकै चरणदेखि जोखिम उच्च रहेको स्पष्ट गरेको छ ।

सजिलो भन्सार विन्दु

महामारी बढ्दा पनि वीरगञ्जमा हुने औद्योगिक–ब्यापरिक गतिविधि रोक्न सकिने अवस्था छैन । देशभित्र आर्थिक गतिविधि कायम राख्ने मामिलामा वीरगञ्ज महत्वपुर्ण रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् ।

विगतमा उत्तरी नाकाबाट चीनसँग नेपालको मुख्य ब्यापार हुने इतिहासकारहरुले उल्लेख गरेका छन् । कालान्तरमा विविध कारणले नेपालको सबै व्यापार भारत केन्द्रित हुदै गयो । यसैक्रममा खडा भएको ‘वीरगञ्ज बजार अड्डा’ २०१३ सालमा ‘वीरगन्ज भन्सार कार्यालय’ बन्यो ।

२०१९ सालमा भन्सार ऐन जारी भएपछि वीरगञ्ज भन्सार अझ व्यवस्थित बन्यो । ब्यापारका लागि सहज नाका भएकाले वीरगञ्ज सरकार र ब्यापारी दुबैको प्राथमिकतामा रहिरह्यो ।

कुनै बेला रक्सौलबाट अमलेखगञ्जसम्म चल्ने रेलका कारण पनि वीरगञ्ज भन्सारको महत्व र प्रभावकारिता बढाएको थियो । रेल बन्द भएपनि वीरगञ्ज नाकाबाट हुने ब्यापार बढ्दै गयो । यो नाकालाई अझ सुविधायुक्त बनाउन सरकारले २०७४ चैतबाट अलग एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा ल्याएको छ ।

रक्सौलबाट वीरगञ्ज पस्ने नाकामा रहेको भन्सार कार्यालयमा पनि पट्रोलियम पदार्थ र साना ब्यापारीले ल्याउने सामानको जाँचपासको काम अझै हुन्छ । अरु सबै मालबाहक ट्रक भने आईसीपीमै लगिन्छ ।

मालबाहक सवारीलाई वीरगञ्ज बजार क्षेत्र पसेर लामो जाममा पर्नु पनि पर्दैन । आईसीपीलाई लक्षित गरेर ६ लेनको वीरगञ्ज–पथलैया सडक बन्दै छ । त्यसले गर्दा अहिले नै आईसीपीसम्मको आवागमन सहज बनेको छ ।

निर्विकल्प कार्गो रेल

वीरगञ्जलाई नेपालको ‘कार्गो हब’ पनि भन्ने गरिएको छ । त्यसैले भन्सार नाका स्तरीकरणमा जोड दिँदै विविध योजना कार्यान्वयनमा छन् । भन्सार कार्यालय लक्षित पूर्वाधार निर्माणका योजनाहरु ल्याइएका छन् ।

वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह (आईसीडी)सम्म कार्गो रेलको सुविधा छ । अन्य नाकामा कार्गो रेल नआउने भएकाले झन्झटिला वस्तुको आयात यही नाका भएर गर्नुपर्छ ।

भारत सरकारको २० करोड अनुदानमा रक्सौलदेखि आईसीडीसम्म रेल्वे जोडिएको छ । बल्क कार्गोमार्फत सामान ढुवानी गर्न सक्ने भएको र कार्गो रेल रोकिएकोले यो बन्दरगाहले नाकाबन्दीको समयमा पनि ठूलो टेवा दिएको थियो ।

यो बन्दरगाहबाट नेपाललाई चाहिने चिनी, मल, फलाम, कोइला लगायतका पदार्थ भित्रिन्छन् । नेपालले विशाखापटनम बन्दरगाह प्रयोग गर्न थालेपछि वीरगञ्जबाट हुने आयात बढेको छ ।

यी सब कारणले जस्तो सुकै जटिल अवस्था आएपनि वीरगञ्ज भन्सार बन्द गर्न सकिने अवस्था हुँदैन । तर, वीरगञ्जमा महामारी फैलिएपछि भन्सारमा जाँचपास सुस्त भएको बताउँछन् भन्सार अधिकृत गोपाल खत्री । ‘र पनि, भन्सार सेवा निरन्तर रहन्छ, किनकी विरगञ्ज देशभरकै आपूर्ति व्यवस्थाको मेरुदण्ड हो,’ उनी भन्छन् ।

यो पनि पढ्नुहोस संक्रमणको ग्राफले भन्छ : वीरगञ्जमा राँको दन्किसक्यो यो पनि पढ्नुहोस काठमाडौंले वीरगञ्जबाट के सिक्नुपर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment