Comments Add Comment

कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारी ११ पुगे

२० साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

मंगलबार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ११ पुगेको हो । मंगलबार दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमितमा एक जना डाक्टर, ६ जना नर्स, २ जना सफाइ कर्मचारी र दुई जना प्राविधिक छन् । विभिन्न मितिमा ११ जनालाई संक्रमण देखिएपछि अस्पतालका ४० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. दासका अनुसार लकडाउनका कारण सेवाग्राही घटेका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमा संक्रमण पनि बढेको छ । स्वास्थ्यकर्मी नै उच्च जोखिममा भएपछि अस्पतालले थोरै स्वास्थ्यकर्मीमार्फत बिरामी हेरचाह गर्ने योजना बनाएको छ ।

‘सेवाग्राही घटेकाले थोरै स्वास्थ्यकर्मीलाई एक्स्पोज गर्ने योजना छ’ उनले भने ‘एकै पटक धेरै एक्पोज हुँदा संक्रमणको जोखिम छ । आवश्यक परेको बेला आउने रिजर्व टोली राखेर आवश्यता अनुसार एक्पोज गर्छौं ।’ अस्पतालमा स्वास्थ्यकर्मी नै जोखिममा रहेकाले सतर्कता बढाइएको उनले बताए ।

ओपीडी खुल्यो

कोशी अस्पतालको बहिरंग सेवा सञ्चालन भएको डा. दासले जानकारी दिए । बिहीबार ओपीडी इञ्चार्जसहित दुई कर्मचारीमा कोरोना देखिएपछि अस्पतालले ओपीडि सेवा अनिश्चितका लागि बन्द गरेको थियो । तर सरसफाइ र सेनिटाइज पछि मंगलबारबाट ओपीडी सेवा सुरु गरेको उनले बताए ।

प्रदेशमा थपिए ४३ संक्रमित

मंगलबार प्रदेश १ मा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा २० सहित प्रदेश १ मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये झापामा ८, सुनसरीमा १२ र इलाममा २ तथा धनुषाका १ जना छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा विराटनगरका ४ महिलासहित ११ जना, लेटाङका २ जना, उर्लाबारीका १ जना, बुढीगंगाका ४ जना र केराबारी गाउँपालिकाका २ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment