
२१ साउन, काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का एक हजार २४० नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरस नियन्त्रणको लागि संघर्ष गरिरहेको जापानमा निरन्तर कोरोना भाइरसका संक्रमण बढिरहेका छन् । जापानमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार ८४१ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा जापानमा ६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै जापानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक हजार ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये करिब एक चौथाई राजधानी टोकियोका छन् । टोकियोमा लगातार आठौं दिन दुई सयभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
साथै पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये दुई तिहाइ संक्रमितको स्रोत पत्ता लागेको छैन । लामो समयसम्म जापानमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा थियो । मे र जुन महिनाको अधिकांश दिनमा दैनिक संक्रमितको संख्या २० देखि ६० को बीचमा देखिएको थियो । जुन १० मा नयाँ संक्रमितको संख्या एक सय नाघेको थियो । त्यसयता निरन्तर जापानमा कोरोना संक्रमण बढिरहेको छ ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4