Comments Add Comment

वीरगञ्जमा अस्पतालले उपचार गर्न नमान्दा बिरामीको मृत्यु

'पीसीआर रिपोर्ट नेगेटिभ देखाउँदा पनि उपचार गर्न मानेनन्'

२२ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन वीरगञ्जमा एक निजी अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लागेको छ ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षीय चलितर महतोको मृत्यु भएको परिवारजनले बताएका छन् ।

बिहीबार बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको तर भर्ना नलिएका कारण महतोको मृत्यु भएको दाबी परिवारजनको भनाइ छ ।

साउन २१ गते बुधबार राति दिसामा रगत देखिएको र श्वास लिन समेत गाह्रो भएपछि उनलाई बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको थियो । कोरोना संक्रमण नभएको पुष्टि हुने कागज देखाउँदा समेत कोभिड–१९ संक्रमितको आशंकामा नेशनलले बिरामीको भर्ना लिन नमानेको मृतकका भाइ शम्भु महतोले जानकारी दिए ।

‘दाइको स्वास्थ्यमा केही दिनयता समस्या देखिरहेको थियो । ज्वरो र हल्का खोकी पनि थियो’ उनले भने, ‘साउन ११ र १५ गते गरी दुईपटक पीसीआर परीक्षण पनि गरायौं । दुई पटककै रिपोर्ट नेगेटिभ आएको छ । तरपनि नेशनल मेडिकल कलेजले भर्ना लिन नै मानेन । भर्ना गराउन आधा घण्टा जति कोशिस गर्‍यौं तर सकेनौं ।’

अस्पतालको गेटमा खटिएका कर्मचारीले ‘एमडीले भनेपछि मात्रै भर्ना गर्छौ ।’ भनेर जवाफ दिएको उनी बताउँछन् । दुई दिनअघि हल्का ज्वरो र खोकी लाग्नुका साथै शरीरमा कमजोरी महशुस भएपछि उनलाई नेशनलमै उपचारका लागि लगिएको थियो । तर त्यतिखेर पीसीआर परीक्षण गराएर ल्याउनु भनी फर्काएको महतोले बताए ।

‘दुई दिन पहिला लैजाँदा पीसीआर रिपोर्ट लिएर आउनु भनेर भने । वडा अध्यक्षले रिपोर्ट हिजो मात्रै हातमा दिनुभयो । रिपोर्ट लिएर जाँदा पनि भर्ना गर्न मानेन,’ उनले भने, ‘अस्पताल बाहिरै पुग्दा पनि उपचार नपाएपछि दाइले संसार छोड्नुभयो ।’

नेशनल मेडिकल कलेका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले भने पीसीआर रिपोर्ट लिएर आएका बिरामीलाई उपचार नगरी फर्काइएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । ‘पीसीआर रिपोर्ट नेगेटिभ आएका बिरामीलाई त्यसै फर्काउने भन्ने हुँदैन,’ उनले भने, ‘यो आरोप झुटो हो ।’

अस्पताललाई बदनाम गर्न यस्तो आरोप लगाइएको दाबी अस्पतालको छ । नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दिन अन्सारीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताएका छन् ।

‘उच्च ज्वरो आउने लगायत कोभिडको लक्षण देखिएका बिरामीलाई कोभिड अस्पतालमा लैजान भन्ने गरेका छौं । अन्यको त अस्पतालमा उपचार भइरहेको छ’ उनले भने, ‘बिहान घटेको भनिएको घटनाका बारेमा मलाई जानकारी भएन । के रहेछ बुझ्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment