Comments Add Comment

जनतालाई कोरोनाको डर, सरकारलाई चाहियो कर !

ललितपुर महानगरपालिकामा कर तिर्नेको भीड

२२, साउन, काठकाडौं । ललितपुर महानगरपालिकामा विहन ११ बजेदेखि ७५ वर्षीय बृद्ध घरको कर तिर्न राजश्व प्रशासन महाशाखाको ढोकाअघि लाइनमा छन् । उनको मास्क नाकमुनि झरेको छ । बालकुमारीबाट आएका उनी उच्च रक्तचापको रोगबाट ग्रसित छन् । तर, दुई घण्टादेखि उनी ठेलमठेल हुलमै छन् ।

कोरोनाको डर लाग्दैन ? उनी जवाफ दिन्छन्, ‘डर त लाग्छ । तर, नतिरी सुख छैन ।’ उनी बृद्ध भएका कारण महानगरले एउटा मात्र छुट गरेको छ । लाइनमा उभिनु नपर्ने र लाइन पालो आउँदासम्म कतै आराम गर्न पाउने । उनी भन्छन्, ‘त्यही एउटा छुट छ र भर्खर आएर कुर्सीमा बसिरहेको छु । अरु त केही व्यवस्था छैन ।’

घरको कर तिर्नका लागि ललितपुर महानगरपालिकामा पुगेकाहरुको लाइन करिव तीन सय मिटरको छ । तर, कोही सेवाग्राही पनि दुरी कायम गरेर लाइनमा उभिएको देखिँदैन ।

राजश्व भुक्तानी गर्ने १०२ नम्बर कोठाको झ्यालमा मानिसहरु मौरीजसरी झुम्मिएका छन् ।

कर तिर्नेकै भीडमा भेटिएकी मञ्जु लेखक पनि कोरोनासँग डराई डराई लाइनमा बसेकी छिन् । उनी भन्छिन्, ‘अनलाइनबाट केही व्यवस्था छ कि भनेर पनि हेरेँ । तर, केही प्रावधान नदेखेपछि यहाँ आएर भीडमा कर तिर्नका लागि बस्नुपरेको छ ।’

उनकै छेउमा बसेका समशेर चन्दले लाइनमा दुरी कायम गर्ने कुनै व्यवस्था नरहेको हुँदा मानिसहरु हुल हुज्जत गरिरहेको गुनासो गरे । दिउँसोको एकबजे लाइनमा भेटिएका उनी एक घण्टादेखि लाइनमा छन् । समशेर भन्छन्, ‘कोरोनाको डर लागेर के गर्नु, अहिले कर नतिरे जरिवाना तिर्नुपर्छ ।’

५७ वर्षीय पुष्कर भट्टको पनि समस्या उही हो । महानगरपालिकाले लाइन व्यवस्थापन गर्नुपर्ने भए पनि नगरेको उनको गुनासो छ ।

दुरी कायम गर्नका लागि कर तिर्ने लाइनमा गोलो घेरा लगाइएको छ । तर, त्यो घेरामा कोही पनि बसेको देखिँदैन । महानगरपालिका क्षेत्र प्रवेश गर्नुअघि स्याननिटाइज गर्ने र ज्वरो नाप्ने व्यवस्था भने गरिएको छ ।

गत १५ साउनदेखि राजस्व संकलन गर्नका लागि खुला गरेको महानगरका सूचना अधिकारी रुद्रप्रसाद गौतमले जानकारी दिए । ‘सेवाग्राहीले यो वर्षभरि नै कर तिर्न सक्ने छन्’, उनी भन्छन्, ‘तर, यो वर्ष ढिलो गरी कर तिर्नेलाई जरिवानाको भने व्यवस्था गरिएको छैन ।’

हेर्नुहोस् थप तस्वीरहरु 

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment