Comments Add Comment

‘चीनमा निको भएका ९० प्रतिशत कोरोना संक्रमितको फोक्सोमा खराबी’

चीनको वुहानको अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका ९० प्रतिशत संक्रमितको फोक्सोमा अझै पनि खराबी देखिएको एक प्रतिवेदनले देखाएको छ । साथै पाँच प्रतिशत निको भइसकेका संक्रमितमा पुनः कोरोनाको लक्षण पाइएको छ ।

चीनको झोङनान हस्पिटल अफ वुहान युनिभर्सिटीका पेङ झियोङको टोलीले गरेको गरेको अनुसन्धानमा यस्तो पाइएको हो । गत अप्रिलदेखि उक्त टोलीले  कोरोना भाइरसका एक सय जना संक्रमितको फलोअप गरिरहेको छ । जसको पहिलो चरणको अध्ययन गत जुलाइमा सकिएको थियो । एकसय संक्रमितको औसत उमेर ५९ थियो ।

पहिलो चरणको अध्ययनको क्रममा ९० प्रतिशत मानिसहरु अझै पनि फोक्सोमा खराबी रहेको अवस्थामा छन् । यसको अर्थ यी मानिसहरुमा फोक्सोले वायुसञ्चार र ग्यास एक्सचेन्जको काम स्वस्थ मानिसको जसरी अझै पनि गर्न सकेको छैन ।

उक्त टोलीले संक्रमितहरुको ६ मिनेटको वाकिङ टेस्ट गरेको थियो । या परीक्षणमा संक्रमितहरु ६ मिनेटमा चार सय मिटर मात्र हिँड्न सकेका थिए । जबकी स्वस्थ मानिस ६ सय मिटर हिँड्न सक्छन् ।

निको भएकामध्ये केही संक्रमित अस्पतालबाट डिस्चार्ज भएको तीन महिनापछि पनि अक्सिजन मेसिनमा निर्भर देखिएको डोङझिमेन हस्पिटलका लियाङ टेङ्सिायाओले बताए । उनको टोली पनि अहिले ६५ वर्ष उमेरभन्दा माथिका निको भएका संक्रमितमाथि फलोअप अध्ययन गरिरहेको छ ।

पेङको टोलीले गरेको अनुसन्धानको क्रममा एक सय निको भइसकेका संक्रमितमध्ये १० प्रतिशतमा विकास भएको एन्डिबडी हराइसकेको देखिएको छ । पाँच प्रतिशत मानिसको इम्युनोग्लोबुलिन एम (आईजीएम)को परक्षिण पोजेटिक आएको छ । यद्यपि उनीहरुको न्युक्लिक एसिड परीक्षण भने नेगेटिभ आएको थियो ।

मानिसको शरीरमा आईजीएम कोरोना भाइरसले आक्रमण गरेपछि बन्ने पहिलो एन्टिबडी हो । आईजीएम परीक्षणमा पोजेटिभ देखिनुको अर्थ उक्त व्यक्ति भर्खरै कोरोना भाइरसबाट संक्रमित भएको हो भन्ने हुन्छ । यद्यपि यी मानिसहरु पुनः संक्रमित भएका हुन् कि होइनन् भन्ने स्पष्ट हुन सकेको छैन ।

अहिलेको नतिजाले संक्रमितहरुको प्रतिरोधी प्रणाली अझै पनि सुधार हुने क्रममा रहेको देखाएको अनुसन्धानमा संलग्न शोधकर्ताहरुले बताएका छन् ।

निको भइसकेका संक्रमितमा डिप्रेसन र दमको झझल्को आउने समस्या देखिएको छ । निको भएका संक्रमितमध्ये अधिकांशले आफ्ना परिवारहरुले एउटै टेबलमा बसेर खाना खान नमान्ने गरेको गुनासो गरेका थिए । एक सय निको भएका संक्रमितमध्ये आधाभन्दा कम मात्र आफ्नो नियमित काममा फर्केका छन् ।

स्रोत : ग्लोबल टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment