+
+
Shares

भारतको केरलामा विमान दुर्घटना १७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २४ गते ६:१९

२४ साउन, काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।

दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।

भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो ।

हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि थिए ।

दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् ।

सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।

भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले दुर्घटनाको जाँच गर्न दुई वटा कमिटी गठन गरिएको जानकारी दिए ।

दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । केही दिनयता केरलामा भारी वर्षा, बाढी र पहिरो गइरहेको छ । शुक्रबार बिहान केरलाको मुन्नारमा पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?