Comments Add Comment

‘कोरोना भगाउँछु भन्थे, कोरोनाले नै ज्यान लियो’

उनको सम्पर्कमा आएका ६ जनामा संक्रमण

कोरोना संक्रमणबाट मृत्यु भएका पोखराका ६२ वर्षीय पुरूषको शव पोखरा महानगरपालिका-३२ मा व्यवस्थापन गर्दै नेपाली सेना । तस्वीर सौजन्य : राधिका कडेंल

२५ साउन, पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति धर्म प्रवर्तक भएको पाइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसूयीमा उपचाररत ६२ वर्षीय बुद्धको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको साउन १७ गते पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिमात्र उनले घरमै ‘सच्चाई कार्यक्रम’ गर्दै आएको पाइएको छ । ‘कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति पोखरा–१९ लामाचौरको एक सच्चाईको प्रमुख भएको खुलेको छ,’ वडाध्यक्ष शोभामोहन पौडेलले भने, ‘उनको सम्पर्कमा आउने थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दैछौं ।’

कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ६७ जनाको स्वाब परीक्षण गरिएको थियो, जसमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सच्चाईका अनुयायी र उनको परिवार भएको वडाध्यक्ष पौडेलले जानकारी दिए । ‘उनको घरमा सच्चाईमा सहभागी हुन जाने ६ जनालाई कोरोना देखियो,’ वडाध्यक्ष पौडेलले भने, ‘आजमात्र पनि ३० जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दैछौं ।’

‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ नामक धार्मिक अभियानको लामाचौर शाखाका प्रमुख रहेका उनले आफूसँग कोरोना भगाउने तागत भएको बताउने गरेको स्थानीयहरु बताउँछन् । ‘उहाँले मसँग कोरोना भगाउने तागत छ भन्नुहुन्थ्यो । लकडाउनको समयमा पनि घरमै बोलाएर सच्चाईको कार्यक्रम गर्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँलाई कोरोनाले ज्यान लियो ।’

उनको परिवारका सदस्यहरु हङकङमा छन् । तर उनी सच्चाई प्रवर्तक भएकै कारण पोखरामा बस्दै आएका थिए । ‘घरमा सच्चाईको कार्यक्रम गर्ने, मसँग कोरोना भगाउने तागत छ भन्ने गरेको खुल्न आएको छ,’ वडाध्यक्ष पौडेलले भने, ‘जब उहाँलाई कोरोना संक्रमण पुष्टि भयो, तब सन्त्रास फैलियो ।’

हङकङ जाने तयारीमा थिए

संक्रमित व्यक्तिका परिवार हङकङ बस्दै आएका छन् । उनका २ छोरी र श्रीमती हङकङमै बस्दै आएका छन् ।

उनी पनि हङकङ जाने तयारीमा थिए । ‘कोरोना संक्रमण नदेखिएको भए यतिबेला उहाँ हङकङ जाने कार्यक्रम रहेछ,’ वडाध्यक्ष पौडेलले भने, ‘रुघाखोकीले ग्रस्त भएर अस्पताल गएको ९ दिनपछि कोराले उहाँको ज्यान नै लियो ।’ परिवारले उनलाई हङकङमै बस्न आग्रह गरे पनि सच्चाईका प्रमुख भएका कारण उनले घरमै बस्नुपर्ने बताउँदै आएको स्थानीयले बताए ।

जोखिम क्षेत्रमा सिल

कोरोना संक्रमण पुष्टि भएका ६२ वर्षीय पुरुषको मृत्यु भएपछि पुरुञ्चौर, लामाचौर, बाटुलेचौर क्षेत्रवासी त्रसित बनेका छन् । रुघाखोकी लागिसक्दा पनि उनी हिँडडुल गरिरहेको खुल्न आएको थियो । यो ठाउँ वडा नम्बर १९ मा परे पनि वडा नम्बर १६ को सीमा क्षेत्र हो । वडा नम्बर १९ को सम्भावित जोखिम क्षेत्र सिल गर्ने तयारी गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

वडा नम्बर १९ को लामाचौर चोक, भक्तिपथ, सहरडहर, भण्डारी डहर, गैरीखोर, गैह्राबारी लगायतका ठाउँमा सोमबारबाट सिल गर्ने तयारी गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए । ‘सम्भावित जोखिम क्षेत्र तोकेर सिल गर्ने तयारी गरेका छौं,’ वडाध्यक्ष पौडेलले भने, ‘संक्रमित अझै बढ्न सक्ने भएकाले सचेत गराएका छौं ।’

पोखरा–३२ मा शव व्यवस्थापन

संक्रमित पुरुषको पोखरा–३२ मा शव व्यवस्थापन गरिएको छ । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । ‘पूर्व निर्धारित ठाउँमै मापदण्ड पूरा गरेर शव व्यवस्थापन भइसकेको छ,’ सीडीओ ढकालले भने, ‘यसपटक कुनै रोकतोक भएन ।’

वडा नम्बर ३२ को मझुवा नजिकै रातो पैह्रा घाटमा शव व्यवस्थापन गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । पोखरा–३२ मा असार ११ गते पोखरामा कोरोना संक्रमणबाट ज्यान गएका दोस्रो व्यक्तिको शव व्यवस्थापनको क्रममा स्थानीयले अवरोध गरेका थिए । स्थानीय र प्रहरीबीच झडप हुँदा एक जना प्रहरीसहित केही स्थानीय घाइते भएका थिए ।

जेठ २५ गते कोरोनाका कारण मृत्यु भएका स्याङजाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीयले विरोध गरेका थिए । पोखरा ११ र २० को सीमानामा शव व्यवस्थापन गर्न लागिएपछि स्थानीयले अवरोध गरेका थिए । बस्ती नजिक भएको शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधि समेत विरोधमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेर शव व्यवस्थापन गरेको थियो ।

पोखरामा कोरोनाबाट मृत्यु भएको यो तेस्रो घटना हो भने पोखराकै चाहिँ उनी पहिलो व्यक्ति हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment