८ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोक धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ निर्माण हुने भएको छ ।
काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरे ।
सम्झौता अनुसार धुलिखेल नगरपालिका–७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलमा साझेदारी प्रारूपको पार्क निर्माण हुनेछ । पार्क निर्माणको अनुमानित लागत ७ करोड रुपैयाँ हो ।
बहुवर्षीय योजनाका रूपमा अगाडि बढाइने कार्यक्रमका लागि महानगरपालिकाले यस वर्ष १ करोड लागत सहभागिता उपलब्ध गराउने छ । यसरी उपलब्ध रकम त्यही योजना, त्यही स्थानका लागिमात्र खर्च गरिने छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रम कार्यान्वयनमा नागरिक सहभागिता र अपनत्व प्रमुख सर्त भएको बताइन् ।
‘नत्र, कसले बनायो, कसका पालामा बनेको हो जस्ता कुराले योजना नै अलपत्र पर्न सक्छ,’ उनले भनिन्, ‘यो नागरिक केन्द्रित कार्यक्रम हो भन्ने बिर्सन हुँदैन ।’
वातावरणमैत्री पूर्वाधार निर्माण सन्दर्भमा उनले अत्यावश्यक ठाउँमा मात्र कंक्रिट प्रयोग गर्न र प्राकृतिक स्वरूप पार्कको मूलभूत विशेषता हुनुपर्ने बताइन् ।
धुलिखेलका कार्यवाहक प्रमुख जंगमले यति ठूलो योजनामा आँट गर्न नसकेका बेला काठमाडौं महानगरपालिकाले वास्तवमै नगरको अवस्था उकास्न सहयोग गरेको बताए । ‘हामी सम्झौतामा उल्लेख भएको व्यवस्थाभन्दा पनि उत्तम नतिजा दिन चाहन्छौं,’ उनले भने ।
त्यस क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले निर्धारित समयभित्र काम सम्पन्न हुने आशा व्यक्त गरे ।
त्यस्तै धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले नगरस्तरीय मैत्री सम्बन्ध दिगो बनाउने माध्यमका रूपमा पार्क निर्माण गरिने बताए ।
सम्झौता बमोजिम साझेदारी प्रारूपमा निर्माण हुने पार्क प्रवेश गर्दा जारी हुन सक्ने टिकट, पार्कसम्बन्धी डकुमेन्ट्री, ब्रोसर, शिलालेख वा यस सम्बन्धी थप कागजात समेतमा ‘काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्माण भएको पार्क’ भन्ने बेहोरा उल्लेख हुनेछ ।
पार्क निर्माण गर्न थप प्राविधिक परामर्श आवश्यक परेर माग भए महानगरपालिकाले विषयविज्ञबाट नि:शुल्क परामर्श सेवा उपलब्ध गराउने छ ।
प्रतिक्रिया 4