Comments Add Comment

मोरङका १० स्थानीय तहमा लकडाउन

२५ साउन, विराटनगर । संक्रमणको स्रोत नखुलेका कोरोना संक्रमित भेटिन थालेपछि मोरङका १० वटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् ।

मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी र उर्लाबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन् । त्यस्तै धनपालथान र कानेपोखरी गाउँपालिकाले पनि लकडाउन गरेका छन् ।

मोरङमा १७ वटा स्थानीय तह छन् । तीमध्ये १० ले पूर्ण लकडाउन गरेका छन् । जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्यालय र गाउँपालिका अन्तर्गतका वडा कार्यालय बन्द गरेका छन् ।

मोरङका ग्रामथान, मिक्लाजुङ, बुढीगंगा, केराबारी गाउँपालिका र लेटाङ नगरपालिकाले लकडाउन घोषणा गरेका छैनन् ।

संघीय सरकारले ११ चैतबाट सुरु लकडाउन ७ साउनबाट अन्त्य गरेको छ । ७ साउनमा मोरङमा कोरोना संक्रमितको संख्या २ सय ११ थियो । तर आइतबारसम्म संक्रमितको संख्या ५७१ पुगेको छ । संक्रमणका कारण ६ जनाले ज्यान गुमाइसकेका छन् ।

मोरङमा सबैभन्दा पहिले १६ साउनमा विराटनगर महानगरपालिकाले लकडाउन गरेको थियो । विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या २८३ पुगेको छ । कोरोना नियन्त्रण र संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि लकडाउन गरिएको विराटनगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment