Comments Add Comment

आफ्नै सांसदसँग डराए मुख्यमन्त्री पौडेल !

२६ साउन, हेटौंडा । आइतबार जिल्ला समन्वय समिति, मकवानपुरको पाँचौं जिल्ला सभा थियो ।

प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेशसभाका सदस्यहरु सहभागी सभामा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन हस्ताक्षर संकलन भइरहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरमा राजनीतिक तरंग पैदा भएको छ ।

बागमती प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई उछिन्दै मुख्यमन्त्री बनेका पौडेलको साढे २ वर्षे कार्यकाल सन्तोषजनक नभएको भन्दै नेकपा सांसदहरु समेत असन्तुष्ट देखिन्छन् ।

पछिल्लो पटक आर्थिक वर्ष २०७७/७८ को बजेट पास गर्न समेत प्रदेश सरकारलाई गाह्रो परेको थियो । नेतृत्वको जोडबलमा बजेट पास भएपछि राहतको सास फेरेका मुख्यमन्त्री पौडेलले आइतबार सार्वजनिक मञ्चबाट आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन भएको दाबी गरे ।

के भनेका थिए पौडेलले ?

मेराविरुद्ध मकवानपुरबाटै क्याम्पेनिङ सुरु भएको छ । मकवानपुरकै सांसद लागेका छन् ।

मलाई पदबाट हटाउनका लागि अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको छ । तर मलाई पदको लोभ छैन, निकालिए पनि कुनै चिन्ता छैन । मेरो आग्रह छ । राम्रा कामको लागि प्रतिस्पर्धा गरौं तर, हिलो छ्याप्ने काम नगरौं ।

कमजोरी ढाकछोप गर्न अभिव्यक्ति

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति मकवानपुरका नेकपा प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले संयुक्त वक्तव्य जारी गर्दै आफ्नो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्रीले आधारहीन अभिव्यक्ति दिएको बताएका छन् ।

प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, मुनु सिग्देल र ओम घलानले भनेका छन्, ‘कुनै प्रसंगविना मुख्यमन्त्रीले दिनुभएको अभिव्यक्तिले नेतृत्व, नेता, कार्यकर्ता र आम जनमानसमा भ्रम सिर्जना हुन पुगेको छ । मुख्यमन्त्रीको अभिव्यक्तिप्रति हामी खेद व्यक्त गर्न चाहन्छौं ।’

प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च गर्न नसकेको, बजेट नै पास नहुने आएको जस्ता आफ्ना कमजोरी ढाकछोप गर्न मूख्यमन्त्रीले झुटो प्रचार गरेको उनीहरुको आरोप छ ।

बजेट वितरणका सन्दर्भमा संसदीय दलको बैठकमा सांसदहरुको सामान्य असन्तुष्टि समेत सामना गर्न नसनेपछि मुख्यमन्त्रीको सामान्य विरोध भएको उनीहरुले बताएका छन् ।

प्रदेश राजधानी हेटौंडा बनाउने पार्टीको निर्णय भएको भन्दै उनीहरुले भनेका छन्, ‘मुख्यमन्त्रीले यसलाई व्यक्तिगत पूँजीका रुपमा लिएपछि प्रदेशसभा सदस्यहरुमा रहेको असन्तुष्टि बजेजका सन्दर्भमा प्रष्ट भएको हुनसक्छ ।’ त्यही कारण बजेट पास नहुने अवस्था आएपछि प्रदेश कमिटी इन्चार्ज लगायतले भूमिका खेल्नु परेको भन्दै नेकपा प्रदेशसभाका चार सांसदले भनेका छन्, ‘यो सबै घटनाक्रमका बाबजुद प्रदेशसभामा आफूलाई कमजोर महसुस गरी यो अभिव्यक्ति दिनुभयो कि भन्ने लागेको छ ।’

यसरी विज्ञप्ति जारी गर्नेमध्येकी मनु सिग्देलले मुख्यमन्त्रीले मनगणन्ते कुरा गरेर पार्टीमा आघात पुर्‍याएको बताइन् । उनले भनिन्, ‘अभिभावकले सिंगो पार्टीलाई क्षति पुर्‍याउने अभिव्यक्ति दिनु जनभावना विपरीत हो ।’

अर्का प्रदेशसभा सदस्य कुमारी मोक्तानले मुख्यमन्त्रीको अभिव्यक्तिबाट आफू आश्चर्यमा परेको बताइन् । उनले अघि भनिन्, ‘थाहा नभएको विषयमा मुख्यमन्त्रीको अभिव्यक्ति आयो, हामीलाई साह्रै दुःख लाग्यो ।’

मुख्यमन्त्री निकट प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले भने पौडेलले केही आधार भएरै बोलेको हुनसक्ने बताइन् । तर त्यसबारे आफूलाई थाहा नभएको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment