Comments Add Comment

वीरगञ्जमा चिकित्सकमाथि भएको घटना अमानवीय : चिकित्सक संघ

२८ साउन, काठमाडौं । नेपाल चिकित्क संघले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको घटनालाई अमानवीयको संज्ञा दिँदै भर्त्सना गरेको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार गर्दा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु स्वयं नै संक्रमित भई रहेको अवस्थामा समेत नेपाली जनताको जीवन रक्षाका निम्ति आफ्नो ज्यानको बाजी लगाउँदै जनताको लागि निरन्तर स्वास्थ्य सेवा प्रवाहमा समर्पित भई रहेको अवस्थामा नारायणी अस्पताल वीरगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अस्वाभाविक तवरले लाल्छाना लगाउने, हातपात गर्ने तथा स्वास्थ्य संस्था एवं चिकित्सकहरुको सवारी साधन तोडफोड गर्ने जस्ता अत्यन्तै अमानवीय घटनाप्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय घोर भर्त्सना र निन्दा गर्दछ ।’

‘पर्साका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले सञ्चालन गरेको विरोध कार्यक्रमप्रति ऐक्यवद्धता जाहेर गर्दै घटनामा संलग्न दोषीहरुलाई तत्कालै कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकार समक्ष जोडदार माग गर्दछ ।’ संघका महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस उपचार नपाएर मर्ने क्रम बढेको भन्दै वीरगञ्जमा प्रदर्शन

यस्तो बिषमपूर्ण अवस्थामा समेत स्वास्थ्यकर्मी, चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति नेपाल सरकारले प्रभावकारी कदम नउठाउने हो भने देशभरकै स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्न सक्ने संघले चेतावनी दिएको छ ।

कोरोना संक्रमण उच्च रहेको क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि नै यस्ता प्रकारका अवान्छनीय र अकल्पनीय घटना हुनु र सुरक्षा निकायले प्रभावकारी सुरक्षा प्रदान गर्न नसक्नुले गम्भीर परिस्थिति सिर्जना गरेको भन्दै दीर्घकालिन रुपमा स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्र घोषणा गरेर चिकित्सकहरुको मनोबललाई उच्चपार्नु पर्ने संघको माग छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमण बढ्दै गइरहेकोले उनीहरुको उपचारको विशेष व्यवस्था गर्ने र उनीहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेमा तत्कालहवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा उपचार गराउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल मिलाउनु पर्ने माग संघले गरेको छ ।

नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु उपलब्ध गराउनु पर्ने र कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आईसीयू बेडहरु र जनरल बेडहरुको संख्या वृद्धि गर्नु पर्ने माग समेत संघले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment